काठमाण्डौ । विश्वभर कोरोना संक्रमणको मृत्यु हुनेको संख्या बुलेट ट्रेनको गति झै तीव्र बन्न थालेको छ । 

पछिल्लो समय कोरोना संक्रमणको महामारी फैलिएको इटली र स्पेनको अवस्था झनै भयावह बनिरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा क्रमशः ६८३ र ६५६ जनाको मृत्यु भएको छ । 

अमेरिकापछि संक्रमितको मृत्युको संख्या फ्रान्समा समेत ह्वात्तै बढेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा २३१ संक्रमितले ज्यान गुमाएका छन् । 

इटली, स्पेन र फ्रान्स एकआपसमा सीमा जोडिएका देश हुन् । यी ३ देशमा २४ घण्टाभित्र १५७० संक्रमितको मृत्यु भएको देखिएको छ । 

संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा पनि ह्वात्तै बढेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २४७ संक्रमितको मृत्यु भइसकेको छ । 

इरानमा एकैदिन १४३ ले ज्यान गुमाएका छन् भने नेदरल्याण्डमा ८० जना, जर्मनीमा ४७, बेलायतमा ४३, बेल्जियममा ५६, स्वेडेनमा २२ जना संक्रमितको मृत्यु भएको छ । 

चीनमा समेत ६ संक्रमित मरेका छन् भने भारतमा २ जना थपिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वभर २३८८ संक्रमितको मृत्यु भई कुल मृतकको संख्या २१ हजार २८४ पुगेको छ । 

अमेरिकामा तीव्र संक्रमण
नयाँ संक्रमण अमेरिकामा तीव्र गतिमा फैलिन थालेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै १३ हजार ३५५ नयाँ संक्रमित भेटिएका छन् । त्यहाँ कुल संक्रमितको संख्या ६८ हजार २११ पुगेको छ । संक्रमितमध्ये १४०० बढीको अवस्था जटिल रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

यसैगरी, पछिल्लो २४ घण्टामा स्पेनमा ७ हजार ४५७, इटलीमा ५ हजार २१०, जर्मनीमा ४ हजार ३३२, फ्रान्समा २९२९, इरानमा २२०६, बेलायतमा १४५२, स्वीट्जरल्याण्डमा १०२०, नेदरल्याण्डमा ८५२, बेल्जियममा ६६८, पोर्चुगलमा ६३३, क्यानडामा ६१७, टर्कीमा ५६१ नयाँ संक्रमित भेटिएका छन् । 

नेपालको सबैभन्दा नजिकको छिमेकी भारतमा पछिल्लो २४ घण्टा १२१ नयाँ संक्रमित थपिएर कुल संक्रमितको संख्या ६५७ पुगेको छ । 
विश्वभर हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ लाख ७१ हजार बढी पुगिसकेको छ । 

विश्वभरका संक्रमितमध्ये १४ हजार बढीको अवस्था निकै जटिल रहेको बताइएको छ ।