काठमाण्डौ । लगानीकर्ताका संघसंगठनहरुले आइतबारदेखि नेप्सेले सीमित अनलाइन कारोबारीलाई लाभ पुग्ने गरी बजार खुलाउन लागेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । 

केहीबेरअघि लगानीकर्ताका ५ वटा संगठनका अध्यक्षले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै यस्तो चेतावनी दिएका हुन् । 

सरकारी घोषणा र संवैधानिक व्यवस्था विपरीत अत्यावश्यक क्षेत्रमा नपर्ने सेयर बजार नेप्सेले खुल्ला गर्न खोजेको सूचना आएको र अनलाइनबाट कारोबार संचालन गर्न लागेको जानकारी प्राप्त भएको भन्दै त्यसो भएमा बजारका १ प्रतिशत लगानीकर्ताको मात्र सहभागिता हुने र ९९ प्रतिशत लगानीकर्ता कारोबारबाट बञ्चित हुने भन्दै बजार बन्द गर्न माग गरेका हुन् । 

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा अत्यावश्यक बाहेकका सेवा आइतबारदेखि बन्द गर्ने घोषणा गरेका थिए । राजपत्रमा सेयर बजार अत्यावश्यक क्षेत्रमा पर्दैन । यहीकारण समेत प्रमको घोषणा र राजपत्रको आशयविपरीत सेयर बजार खुलाउनु गलत रहेको लगानीकर्ताहरुले प्रष्ट पारेका छन्  ।

लगानीकर्ताहरुले सीमित व्यक्तिलाई फाइदा हुने गरी प्राकृतिक न्याय विपरीत र संवैधानिक व्यवस्था विपरीत बजार खुलाएको खण्डमा त्यसको सशक्त प्रतिवाद गर्ने भन्दै आम लगानीकर्ताको समेत साथका लागि आह्वान गरेका छन् । 

नेपालमा २० लाख डिम्याट खाता खोलिएको र अनलाइन कारोबारको यूजर लिनेको संख्या २० हजार मात्र रहेको उल्लेख गर्दै डिम्याट खाता र बैंक इन्टीग्रेसन नभइसकेको अवस्थामा लगानीकर्ताहरु ब्रोकर कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता भएको उल्लेख गर्दै अनलाइन कारोबार समेत नगर्न लगानीकर्तामा संगठनहरुले आह्वान गरेका छन् । 

सामूहिक अपीलमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता दवाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजीबजार संघका अध्यक्ष संरक्षणा चौधरीले हस्ताक्षर गरेका छन् ।