काठमाण्डौ । पहेँलो धातु सुनको मूल्यले पुस महिनाकै उच्च विन्दू चुमेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ५६ हजार ६ सय कायम भएको हो । 

पुस ३ गते सुन प्रति तोला ५४ हजार ३ सयमा कारोबार भएको थियो । त्यसपछि बढेर पुस १९ गते ५६ हजार कायम भएको थियो । २० गते ५५ हजार ८ सयमा झरे पनि २१ गतेदेखि भने सुनको भाउ प्रतितोला ५६ हजार माथि नै कायम भइरहेको छ । पुस २६ गते बुधबार सुनको भाउ प्रतितोला ५६ हजार रहेकोमा बिहीबार ५६ हजार ४ सय र शुक्रबार ५६ हजार ६ सय कायम भएको हो । 

यसरी हेर्दा पुस महिनाको सुरुवातमा लगानी गर्नेहरुले एकतोला सुनबाट २३०० रुपैयाँ कमाएका देखिएको छ । 

सुनको भाउ महिनाकै उच्च विन्दूमा पुगे पनि चाँदी चाहि प्रतितोला ७५० रुपैयाँ भन्दा माथि पुगेको छैन । 

अन्तराष्टिय बजारमा तेलको भाउ बढ्दै गएकोले सुनको मूल्य अझै माथि जानसक्ने विश्लेषकहरुले बताउँदै आएका छन् । यस्तै, अमेरिकी अर्थतन्त्र कमजोर बनिरहेकोले लगानीकर्ताको डलरप्रतिको आकर्षण घटी सुनतर्फ बढ्ने समेत अपेक्षा गरिएको छ । अर्कोतर्फ, विश्वमै सुन आयातको सबैभन्दा ठूलो देश चीनले फेब्रुअरीमा नयाँ वर्ष मनाउँदैछ, यस्तो अवसरमा त्यहाँको सुनको उच्च माग हुने गरेको छ । यसले समेत भाउलाई केही माथि लैजानसक्ने विश्लेषण गरिएको छ ।