काठमाण्डौ । नेपाली बजारमा कारोबारको अन्तिम शुक्रबार सुनको भाउ तोलामा एकैदिन १ हजार ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एकैदिन १ हजार ४०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७२ हजार रुपैयाँ र तेजाबी सुन ७१ हजार ७०० रुपैयाँ कायम भएको छ । सुनको भाउ बिहीबार पनि अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटेर प्रतितोला छापावाल सुन ७३ हजार ४०० र तेजाबी सुन ७३ हजार १०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी अघिल्लो दिनको तुलनामा एकैदिन १ हजार रुपैयाँ बढेर गत बुधबार सुनको भाउ प्रतितोला छापावाल ७३ हजार ५५ रुपैयाँ र तेजाबी ७३ हजार २०० रुपैयाँ कायम भएको थियो । सुनको भाउ मंगलबार प्रतितोला छापावाल ७२ हजार ५०० र ७२ हजार २०० कायम भएको थियो । मंगलबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ५०० रुपैयाँले बढेको थियो ।

यस्तै साताको कारोबारको पहिलो र दोस्रो दिन क्रमशः आइतबार र सोमबार भने सुनको भाउ प्रतितोला छापावाल ७२ हजार रुपैयाँ र तेजाबी ७१ हजार ७०० रुपैयाँ कायम भएको थियो । जुन अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा ४०० रुपैयाँले घटेको थियो ।

समग्रमा यो साता सुनको भाउ स्थिर रहेको देखिएको छ । कारोबारको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला छावाल ७२ हजार रुपैयाँ र तेजाबी ७१ हजार ७०० रुपैयाँ कायम भएकोमा अन्तिम दिन शुक्रबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

अमेरिका–चीन व्यापार युद्ध, जम्मु–काश्मीर मामिला, डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुनु आदि कारणले सुनको भाउ आकासिएको अर्थविश्लेषकहरु बताउँछन् । सुनको भाउमा पछिल्लो दुई महिनायता बढोत्तरी आइरहेको छ । सुनको भाउ बढ्दै जाँदा कारोबार भने ठप्पजस्तै छ ।