काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ बुधबार एकैदिन तोलामा रु. ८०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा रु. ८०० ले बढेर प्रतितोला छापावाल सुन रु. ७२ हजार २०० र तेजाबी सुन रु. ७१ हजार ९०० कायम भएको छ । यो मंसिर महिना लागेयताकै उच्च मूल्य हो ।

मंसिरको ४ गते छापावाल सुन प्रतितोला रु. ७२ हजार १०० र तेजाबी सुन रु. ७१ हजार ८०० मा कारोबार भएको थियो । त्यसयता सुनको भाउ लगातार घट्ने र बढ्ने क्रम जारी छ ।

यो साताको सोमबार र मंगलबार सुन प्रतितोला छापावाल रु. ७१ हजार ४०० र तेजाबी रु. ७१ हजार १०० मा कारोबार भएको थियो । जुन कारोबारको पहिलो दिन आइतबारको तुलनामा रु. २०० ले घटेको थियो । आइतबार प्रतितोला छापावाल सुन रु. २१ हजार ६०० र तेजाबी सुन रु. ७१ हजार ३०० थियो ।

उता चाँदीको भाउ पनि बुधबार तोलामै १५ रुपैयाँले बढेर प्रतितोला रु. ८६५ कायम भएको छ । कारोबारको पहिलो दिन आइतबार प्रतितोला रु. ८५५ रहेको चाँदीको भाउ सोमबार र मंगलबार भने रु. ५ घटेर रु.८५० मा कारोबार भएको थियो ।