काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज मंगलबार एकैदिन तोलामा ८०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सोमबारको तुलनामा आज एकैदिन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७४ हजार रुपैयाँ र तेजाबी सुन ७३ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला छापावाल ७४ हजार ८०० र तेजाबी ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साता कारोबारका तीनै दिन सुनको भाउ लगातार घटिरहेको छ । यो साता तीन दिनमा सुन तोलामा १ हजार रुपैयाँले घटिसकेको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँ रहेको थियो ।

समग्रमा यो पुस महिनामा सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँले बढेको छ । गत पुस १ गते प्रतितोला छापावाल सुन ७१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७१ हजार २०० रुपैयाँ थियो । आज पुस मसान्त (२९ गते) सुन प्रतितोला छापावाल ७४ हजार रुपैयाँ र तेजाबी ७३ हजार ७०० रुपैयाँ पुगेको छ ।

त्यसो त सुनको भाउ गत पुस २३ गते नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो । त्यस दिन प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सोही दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ ।

आजको दिन चाँदी भने प्रतितोला ८८० रुपैयाँ कायम भएको थियो । हिजो सोमबारको तुलनामा चाँदीको भाउ तोलामा १० रुपैयाँको गिरावट आएको हो ।