काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ फेरि अल–टाइम हाई नजिक पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ एकैदिन १ हजार ८०० रुपैयाले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ। 

गत चैत २२ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो।