काठमाण्डौ । लगातार छलाङ मारिरहेको सुनको भाउ बुधबार थोरै घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजोको तुलनामा आज सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो। भाउ घटेसँगै आज सुन प्रतितोला छापावाल ८२ हजार ३०० रुपैयाँ र तेजाबी ८२ हजार रुपैयाँ कायम भएको छ। 

सुनको भाउ हिजो मंगलबार तोलामा २०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८२ हजार ७०० रुपैयाँ र तेजाबी ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो। 

कोरोना भाइरसले विश्वबजारमा अन्य उद्योगधन्दामा मन्दी छाएसँगै सुरक्षित कारोबारका लागि सुनमा लगानी बढ्न थालेपछि यसको भाउमा उछाल आएको हो।

बजार विश्लेषकहरुका अनुसार सुनको भाउ अझै बढ्न सक्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस २ हजार डलर पुग्ने प्रक्षेपण यसअघि नै भइसकेको छ। यसको मतलब सुन प्रतिऔँ २ हजार डलर पुग्दा नेपाली बजारमा पनि प्रतितोला ९५ हजार रुपैयाँको हाराहारीमा पुग्न सक्छ। 

आज बुधबार चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला ८८० रुपैयाँ नै रह्यो । चाँदीको भाउ हिजो मंगलबार तोलामा १० रुपैयाँ घटेर ८८० रुपैयाँ कायम भएको थियो।