काठमाण्डौ। सुनको भाउ आज सोमबार पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ८७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ८७ हजार ६५ रुपैयाँ पुगेको छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लागू गरेको लकडाउनबीच हिजो आइतबारदेखि सुनचाँदीको कारोबार खुलेको थियो। लकडाउन भने जेठ ३२ गतेसम्मका लागि लगाइएको छ। 

कारोबार खुलेकै दिन आइतबार छापावाल सुनमा तोलामै १० हजार ४०० बढेको थियो। जसअनुसार आइतबार प्रतितोला छापावाल सुन ८७ हजार ४०० रुपैयाँ कायम भएको थियो। 

त्यस्तै तेजाबी सुनमा तोलामै १० हजार २६० रुपैयाँ बढेर ८६ हजार ९६० रुपैयाँ कायम भएको थियो। 

यसअघि लकडाउन लागू हुनुअघि अघिल्लो गत वर्ष चैत १० गते प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी सुन ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। त्यसयता सुनचाँदीको कारोबार स्थगन हुन पुगेको थियो।

यसैरी चाँदीको भाउ पनि सोमबार तोलामा ५ रुपैयाँ बढ्दै ९३० रुपैयाँ पुगेको छ। हिजो आइतबार चाँदीको भाउ तोलामा २०५ रुपैयाँले बढ्दै ९२५ रुपैयाँ कायम भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ। कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो।

विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन्। विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो।