काठमाण्डौ। लगातार बढिरहेको सुनको भाउ यो साता कारोबारको अन्तिम दिन शुक्रबार स्थिर बनेको छ।

लकडाउनबीच ७५ दिनपछि यो साता (गते जेठ २५ गतेबाट) सुनचाँदीको कोरोबार खुलेको थियो। कारोबार खुलेयता लगातार पाँच दिनसम्म सुनको मूल्यमा बढोत्तरी आएको थियो। तर कारोबारको अन्तिम दिन सुनको मूल्य स्थिर रहेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबार स्थिर रहँदै प्रतितोला छापावाल सुन ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८९ हजार १६० रुपैयाँ नै कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य पनि हो। 

त्यसो त यो साताभरि सुनको भाउ तोलामै १२ हजार ६०० रुपैयाँको बढोत्तरी आएको छ। लकडाउनबीच गत आइतबार ७५ दिनपछि कारोबार खुल्दा सुनको भाउ एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले बढेको थियो। त्यसपछि सोमबार फेरि तोलामा १०० रुपैयाँ बढेको सुनको भाउ मंगलबार पुनः २०० रुपैयाँ बढेको थियो।

यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामै ९०० रुपैयाँले बढ्यो भने पाँचौँ दिन बिहीबार एकैदिन १ हजार रुपैयाँको बढोत्तरी आयो। 

चाँदीको भाउमा पनि शुक्रबार गिरावट आएको छ। लगातार बढिरहेको चाँदीको भाउ शुक्रबार तालामा १५ रुपैयाँ खस्किएको हो। योसँगै शुक्रबार चाँदी प्रतितोला ९३५ रुपैयाँ कायम भएको छ।