काठमाण्डौ। पछिल्लो दुई सातायता लगातार उकालो लागेको सुनको यो साता कारोबारको तेस्रो दिन मंगलबार पहिलोपटक ओरालो लागेको छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ। त्यसबीच सुनचाँदी व्यवसाय पनि चैत ११ गतेदेखि बन्द रहेकोमा गत जेठ २५ गतेबाट खुलेको थियो। त्यसयता लगातार बढिरहेको सुनको भाउ मंगलबार पहिलोपटक घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबार तोलामा ४०० रुपैयाँ गिरावट आएको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार तोलामा ४०० रुपैयाँ बढ्दै छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको थियो। त्यस्तै तेजाबी सुन पनि प्रतितोला ९० हजार ५६५ पुगेको थियो। तेजाबी सुनमा हिजो तोलामा ४०५ रुपैयाँ बढेको थियो। यो भाउ नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च पनि हो। 

गत आइतबार तोलामा एकैदिन ७०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको थियो। 

यसैगरी चाँदीको भाउ मंगलबार तोलामा १० रुपैयाँ घटेर ९४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला ९५० रुपैयाँ कायम भएको  थियो। गत आइतबार पनि चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला ९४० रुपैयाँ कायम भएको थियो।