काठमाण्डौ । बहुमूल्य पहेँलो धातुका रुपमा रहेको सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

तोलामा सोमबार फेरि १ हजार रुपैयाँले बढेर प्रतितोला छापावाला सुन ७३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७३ हजार २०० रुपैयाँ पुगेको छ। यो नेपालकै इतिहासमा हालसम्म उच्च मूल्य हो ।

हिजो आइतबार पनि एकै दिन तोलामा १ हजार २०० रुपैयाँले सुनको भाउ बढेको थियो । बजारमा आइतबार छापावाला सुन तोलाको ७२ हजार ५०० र तेजाबी सुन तोलाको ७२ हजार २०० मा कारोबार भएको थियो ।

यो साता दुई दिनमै सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले बढिसकेको छ । लगातार सुनको भाउ बढ्न थालेपछि बजारमा किन्नेभन्दा बेच्नेको चाप बढेको छ । सुन कारोबारमा पनि केही दिनयता मन्दी छाएको छ ।

यसअघि गत बुधबार तोलामा ३०० रुपैयाँले बढ्दै नेपाली बजारमा प्रतितोला छापावाला सुन सुन ७१ हजार ३०० रुपैयाँ र तेजाबी ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि लगातार दुई दिन बिहीबार र शुक्रबार स्थिर रहेको सुनको भाउ आइतबार एकैपटक १२ सय रुपैयाँले बढेको हो ।

गत आइतबार सुनको भाउ तोलामा एकैदिन ५०० रुपैयाँले घटेर छापावाला सुन ७१ हजार रुपैयाँ र तेजाबी सुन ७० हजार ७०० रुपैयाँ कायम भएको थियो । त्यसपछि लगातार सोमबार र मंगलबार सुनको भाउ स्थिर रहँदै  बुधबार तोलामा ३०० रुपैयाँले बढेको थियो ।

अमेरिका–चीन व्यापार युद्ध, भारत–पाकिस्तान राजनीतिक तनाव आदिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै जानुले पनि नेपाली बजारमा सुनको भाउ चम्केको जानकारहरु बताउँछन् । सुनको भाउ अझै बढ्ने सक्ने व्यवसायीहरुको अनुमान छ ।