काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य नयाँ वर्ष २०७३ कै सबैभन्दा उच्च विन्दूमा पुगेको छ । 

मंगलबार सुन प्रतितोला ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको हो । नयाँ वर्ष लागेपछि सुनको मूल्य यति महंगो भएको थिएन । 

बैशाख २ गते सुनको भाउ प्रति तोला ५४ हजार ५ सय कायम भएको थियो । त्यसपछि सुनको भाउमा सामान्य वृद्धि मात्र भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भइरहेको चाँदीको मूल्यमा तीव्र वृद्धिले सुनको मूल्यलाई खासै प्रभाव पार्न सकेको थिएन । बैशाख ६ गतेसम्म सुनको भाउ प्रति तोला ५४ हजार ५ सय नै कायम भएको थियो । बैशाख ७ गते तोलामा १ सय मूल्य घटी ५४ हजार ४ सय कायम भएकोमा बैशाख ८ गते एकैदिन प्रति तोलामा ६ सय बढी सुनको भाउ ५५ हजार पुगेको थियो । यो मूल्य बैशाख १० गतेसम्म जारी रह्यो । बैशाख १२ गते २ सय रुपैयाँ घटेर सुन प्रति तोला ५४ हजार ८ सयमा कारोबार भएको थियो । सोमबार तोलामा १ सय रुपैयाँ बढेर सुनको भाउ ५४ हजार ९ सय कायम भएकोमा मंगलबार नयाँ वर्षकै उच्च विन्दू अर्थात तोलामा २ सय रुपैयाँले बढेर ५१ हजार १ सय कायम भएको हो । 

विवाहको मौसम, अन्तर्राष्ट्रिय बजारमा धिमा गतिमै भए पनि बढिरहेको मूल्यका कारण बैशाख महिनाभरिमा सुनको भाउ अझै माथि जानसक्ने विश्लेषकहरुको आँकलन छ । 

पुरानो वर्ष २०७२ को अन्तिम महिना चैतमा सुनको भाउ प्रति तोला ५५ हजार ८ सय सम्म पुगेको थियो । त्यसअघि सुनको भाउ तोलाकाो ५६ हजार ५ सयसम्ममा कारोबार भएको थियो । 

यसैबीच, लगातार चमात्कारिक ढंगले वृद्धि भइरहेको चाँदीको मूल्य मंगलबार तोलामा ५ रुपैयाँले वृद्धि भई तोलाको ७ सय ८० रुपैयाँ कायम भएको छ । बैशाख ८ गतेदेखि तोलाको ७ सय ७५ रुपैयाँको दरमा चाँदीको किनबेच भइरहेको थियो । त्यसअघि बैशाख २ र ३ गते ७ सय ४५ र ५, ६ र ७ गते प्रतितोलाको ७ सय ५० रुपैयाँको दरले किनबेच भएको थियो । ८ गतेदेखि भने तोलामा एकैदिन २५ रुपैयाँले चाँदीको मूल्य बढेको थियो । चाँदीको मूल्य समेत अझै माथि उक्लिन सक्ने आँकलन गरिएको छ ।