काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागिरहेको छ । सुनको भाउ ओरालो लाग्ने क्रममा मंगलबार पनि जारी रह्यो ।

यो साता कारोबारको तेस्रो दिन मंगलबार सुन तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७० हजार ८०० रुपैयाँ र तेजाबी सुन ७० हजार ५०० रुपैयाँ कायम भएको छ ।

कारोबारको पहिलो दिन आइतबार सुन तोलामा एकैदिन ५०० रुपैयाँ घटेकोमा दोस्रो दिन सोमबार २०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुन ७१ हजार २०० रुपैयाँ र तेजाबी ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार छापावाल सुन ७१ हजार रुपैयाँ र तेजाबी ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साता कारोबारको तीन दिनमै सुन तोलामा ९०० रुपैयाँले घटिसकेको छ ।

यसैगरी तोलामा ५ रुपैयाँले घटेर मंगलबार चाँदी प्रतितोला ८३० रुपैयाँ कायम भएको छ । कारोबारको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार चाँदी प्रतितोला क्रमशः ८४० रुपैयाँ ८३५ रुपैयाँमा कारोबार भएको थियो ।