काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

यो साता कारोबारको पहिलो दिन आइतबार एकैपटक १ हजार रुपैयाँले बढेर सुनको भाउले नेपाली बजारमा उच्च रेकर्ड कायम गरेको हो । सुनको भाउ आइतबार प्रतितोला छापावाल ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७५ हजार २०० रुपैयाँ कायम भएको छ । यो नेपालकै इतिहासमा उच्च मूल्य हो ।

त्यसो तीन दिन स्थिर रहेको सुनको भाउ गत साता कारोबारको अन्तिम दिन शुक्रबार एकैपटक तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि मंगलबार, बुधबार र बिहीबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ७३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

गत साता आइतबार र सोमबार प्रतितोला छापावाल सुन ७३ हजार ३०० रुपैयाँ र तेजाबी ७३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । 

पुस महिना लागेयता सुनको भाउ तोलामा ४ हजार रुपैयाँले बढिसकेको छ । पुस १ गते प्रतितोला छापावाल सुन ७१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७१ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज पुस २० गते प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अमेरिका र इरानबीचको सैन्य तनावका कारण विदेशमा सुनको मूल्यमा भारी वृद्धि भइरहेको छ । विदेशी बजारमा सुनको मूल्य प्रतिऔँश १५५४.२० डलरको उचाइमा पुगिसकेको छ ।

त्यसैको असर नेपाली बजारमा पनि परिरहेको अर्थविद्हरु बताउँछन् । सुनको भाउ अझै बढ्न सक्ने उनीहरुको अनुमान छ ।