काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ।

सुनको भाउले बुधबार नयाँ उचाइ लिएको छ। आज एकैदिन तोलामा ४०० रुपैयाँ बढेर सुनको भाउ नेपालको इतिहासमै उच्च विन्दुमा पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ७७ हजार रुपैयाँ नाघेको छ। बुधबार सुन तोला ४०० रुपैयाँ बढेर प्रतितोला छापावाला ७७ हजार १०० रुपैयाँ तेजाबी ७६ हजार ८०० रुपैयाँ कायम भएको छ।

सुनको भाउ हिजो मंगलबार प्रतितोला छापावाल ७६ हजार ७०० र तेजाबी ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। हिजो पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो।

यो साता कारोबार पहिलो दिन आइतबार तोलामा एकैदिन ५०० रुपैयाँले बढेर प्रतितोला छापावाला सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ कायम भएको थियो। कारोबारको दोस्रो दिन सोमबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाला ७६ हजार ५०० रुपैयाँ र तेजाबी ७६ हजार २०० रुपैयाँमै कारोबार भएको थियो। 

यो साता कारोबारको चार दिनमै सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढिसकेको छ। 

पछिल्लो समयमा चीनमा देखिएको कोरोनाभाइरसले विश्व अर्थतन्त्रमा नकारात्मक असर गर्न थालेपछि लगानीकर्ताहरुले पैसा सुनमा खन्याइरहेका छन्। सुनमा गरिएको लगानी सुरक्षित हुने विश्वव्यापी मान्यता पनि छ। यही कारणले सुनको मागसँगै भाउ पनि आकासिन थालेको जानकारहरु बताउँछन्। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै भाउ पनि बढ्न थालेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परिरहेको सुन व्यवसायीहरु बताउँछन्। सुनको भाउ अझै बढ्न सक्ने उनीहरुको अनुमान छ। 

उता सुनको भाउ दिनदिनै बढ्दा जाँदा नेपाली बजारमा कारोबार प्रभावित हुन थालेको छ। बजारमा अहिले सुन खरिद गर्नेभन्दा बच्ने ग्राहक बढ्न थालेको व्यापारीहरु बताउँछन्। 

यसैगरी चाँदीको भाउ पनि बुधबार प्रतितोला ९०५ रुपैयाँ पुगेको छ। आज चाँदी तोलामा एकैपटक १५ रुपैयाँ बढेको हो। चाँदीको भाउ सोमबार र मंगलबार प्रतितोला ८९० रुपैयाँ रहेको थियो।