काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा उछाल आएको छ।
कोरोना भाइरसले विश्वबजारमा अन्य उद्योगधन्दामा मन्दी छाएसँगै सुरक्षित कारोबारका लागि सुनमा लगानी बढ्न थालेपछि यसको भाउमा उछाल आएको हो। नेपाली बजारमा आज बुधबार एकैदिन तोलामा २ हजार २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउमा उछाल आएसँगै प्रतितोला छापावाल ८० हजार ५०० रुपैयाँ र तेजाबी ८० हजार २०० रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।
यसअघि फागुन १२ गते सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो। यो दिन प्रतितोला छापावाल सुन ८० हजार ३०० रुपैयाँ र तेजाबी ८० हजार रुपैयाँ कायम भएको थियो।
हिजो मंगलबार प्रतितोला छापावाल सुन ७८ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो।
सुनको भाउ आइतबार र सोमबार प्रतितोला छापावाल ७८ हजार रुपैयाँ र तेजाबी ७७ हजार ७०० रुपैयाँ थियो। आइतबार सुनको भाउ भने तोलामा एकैदिन १ हजार २०० रुपैयाँले घटेको थियो।
यो साताको कारोबार चौथो दिन बुधबारसम्म सुनको भाउ तोलामा २ हजार ५०० रुपैयाँले बढिसकेको छ।
बजार विश्लेषकहरुका अनुसार सुनको भाउ अझै बढ्न सक्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस २ हजार डलर पुग्ने प्रक्षेपण यसअघि नै भइसकेको छ। यसको मतलब सुन प्रतिऔँ २ हजार डलर पुग्दा नेपाली बजारमा पनि प्रतितोला ९५ हजार रुपैयाँको हाराहारीमा पुग्न सक्छ।
सुनको भाउ व्यापक बढेसँगै बजारमा सुन कारोबार ह्रास आउन थालेको छ। अहिले बजारमा सुन खरिद गर्नेभन्दा पनि बेच्नेको संख्या बढ्न थालेपछि कारोबार घट्न थालेको हो।
25 minutes ago
46 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago