काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ।
यो साता कारोबारको पाँचौँ दिन बिहीबार तोलामा २०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो। तोलामा २०० रुपैयाँ बढेसँगै बिहीबार प्रतितोला छापावाल सुन ८० हजार ७०० रुपैयाँ र तेजाबी सुन ८० हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली सुन बजारकै इतिहासमा उच्च हो।
कोरोना भाइरसले विश्वबजारमा अन्य उद्योगधन्दामा मन्दी छाएसँगै सुरक्षित कारोबारका लागि सुनमा लगानी बढ्न थालेपछि यसको भाउमा उछाल आएको हो। नेपाली बजारमा हिजो बुधबार एकैदिन तोलामा २ हजार २०० रुपैयाँले बढेर प्रतितोला छापावाल ८० हजार ५०० रुपैयाँ र तेजाबी ८० हजार २०० रुपैयाँ कायम भएको थियो।
यसअघि फागुन १२ गते सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो। यो दिन प्रतितोला छापावाल सुन ८० हजार ३०० रुपैयाँ र तेजाबी ८० हजार रुपैयाँ कायम भएको थियो।
गत मंगलबार प्रतितोला छापावाल सुन ७८ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो।
सुनको भाउ यो साता आइतबार र सोमबार प्रतितोला छापावाल ७८ हजार रुपैयाँ र तेजाबी ७७ हजार ७०० रुपैयाँ थियो। आइतबार सुनको भाउ भने तोलामा एकैदिन १ हजार २०० रुपैयाँले घटेको थियो।
यो साताको बिहीबारसम्म सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले बढिसकेको छ।
बजार विश्लेषकहरुका अनुसार सुनको भाउ अझै बढ्न सक्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस २ हजार डलर पुग्ने प्रक्षेपण यसअघि नै भइसकेको छ। यसको मतलब सुन प्रतिऔँ २ हजार डलर पुग्दा नेपाली बजारमा पनि प्रतितोला ९५ हजार रुपैयाँको हाराहारीमा पुग्न सक्छ।
सुनको भाउ व्यापक बढेसँगै बजारमा सुन कारोबार ह्रास आउन थालेको छ। अहिले बजारमा सुन खरिद गर्नेभन्दा पनि बेच्नेको संख्या बढ्न थालेपछि कारोबार घट्न थालेको हो।
चाँदीको भाउ भने बिहीबार स्थिर रह्यो। यो दिन चाँदीको भाउ प्रतितोला ८८० रुपैयाँ नै रह्यो। हिजो बुधबार तोलामा २० रुपैयाँ बढेर चाँदीको भाउ प्रतितोला ८८० रुपैयाँ कायम भएको थियो।
4 minutes ago
34 minutes ago
44 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago