काठमाण्डौ । कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारले लागू लगेको लकडाउनसँगै बन्द रहेको सुनचाँदीको कारोबार ७५ दिनपछि आज आइतबारदेखि खुलेको छ।

लामो लकडाउनपछि कारोबार खुलेकै दिन आइतबार सुनको भाउ प्रतितोला १० हजार ४०० रुपैयाँले बढेको छ। चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँको बढोत्तरी आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ तोलामै एकैपटक १० हजार ४०० रुपैयाँको बढोत्तरी हो। 

यसअघि लकडाउन लागू भएको अघिल्लो दिन अर्थात गत वर्ष चैत १० गते छापावाल सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो। 

यसैगरी तेजाबी सुनको भाउ पनि एकैपटक तोलामा १० हजार २६० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै तेजाबी सुनको भाउ ८६ हजार ९६० रुपैयाँ पुगेको छ। यसअघि गत चैत १० गते तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार ७०० रुपैयाँ थियो।

उता चाँदीको भाउ पनि तोलामै २०५ रुपैयाँले बढ्दै आइतबार ९२५ रुपैयाँ कायम भएको छ। गत चैत १० गते चाँदी प्रतितोला ७२० रुपैयाँ रहेको थियो। 

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ। कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो।

सुनचाँदीमा लगानी गर्नेहरुका लागि मूल्यको यो बढोत्तरी सुखद् भए पनि विश्वभरका अर्थतन्त्रहरुका लागि भने खराब संकेत हो। कारण, जब जब विश्व अर्थतन्त्रमा मन्दी आउँछ तब तब लगानीकर्ताहरुले अन्य लगानीका विकल्पबाट पैसा निकालेर आफू सुरक्षित हुनका लागि सुन किनेर थुपार्छन्। 

विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन्। विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो।