काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले सोमबार नयाँ उचाइ कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँ बढ्दै नयाँ उचाइमा पुगेको छ। यो बढोत्तरीसँगै सोमबार प्रतितोला छापावाल सुन ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुन ८९ हजार २६५ रुपैयाँ पुगेको छ। यो भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च हो। 

हिजो आइतबार सुनको भाउ स्थिर रहँदै प्रतितोला पछावाल सुन ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८९ हजार १६५ रुपैयाँ कायम भएको थियो। गत साता कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ स्थिर रहेको थियो। उक्त दिन पनि प्रतितोला छापावाल सुन ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८९ हजार १६५ रुपैयाँ कायम रहेको थियो।

गत साता बिहीबार सुनको भाउमा तोलामा एकैदिन १ हजार रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ८९ हजार ६०० रुपैयाँ र तेजाबी सुन ८९ हजार १६५ रुपैयाँ कायम रहेको थियो। त्यसपछि सुनको भाउ स्थिर रहँदै आएको थियो।

गत साताभरि सुनको भाउ तोलामै १२ हजार ६०० रुपैयाँको बढोत्तरी आएको थियो। 

यो साता कारोबारको दोस्रो सोमबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घट्दै ९२५ रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदीको भाउ स्थिर रहँदै प्रतितोला ९३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ। कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो।

विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन्। विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो।