काठमाण्डौ । यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ थोरै गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको छ। 

गत साता कारोबारको अन्तिम दिन प्रतितोला फाइन गोल्ड ९८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा ८०० रुपैयाँको बढोत्तरी भएको थियो। 

गत साता लगातार सुनको भाउमा गिरावट आएको थियो। जसका कारण गत साताभरि सुनको भाउ तोलामै ४ हजार ९०० रुपैयाँको गिरावट आएको थियो। 

गत साउन २३ गते नेपाली बजारमा सुनको भाउले हालसम्मकै उच्च दर कायम गरेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो। 

गत बुधबार सुनको भाउमा रेकर्डतोड गिरावट आएको थियो। यो दिन तोलामै ६ हजार २०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उच्च गिरावटसँगै नेपाली बजार पनि प्रभावित भएको हो। अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रतिऔँस २३ डलरले घटेर १ हजार ८९३ रुपैयाँ कायम भएको थियो।

गत मंगलबार विश्वमै रुसले कोरोनाविरुद्धको सफल भ्याक्सिन बनाएको दाबी गरेसँगै विश्व बजारमा अन्य लगानीका क्षेत्रमा आशा बढेको छ। यसले पनि सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरु बताउँछन्।

आज चाँदीको भाउ पनि तोलामै ३० रुपैयाँले घटेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामै ६० रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार ३५५ रुपैयाँ कायम भएको थियो।