काठमाण्डौ । सुनको भाउ लगातार भइरहेको गिरवाटले आज मंगलबार पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ७०० रुपैयाँको गिरावट आएको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार पनि सुनको भाउमा ५०० रुपैयाँको गिरावट आएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ४०० रुपैयाँ कायम भएको थियो।

यो साता कारोबारको पहिलो आइतबार पनि सुनको भाउ तोलामै ४०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो। 

यो साता कारोबारको तीन दिनमै सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँको गिरावट आइसकेको छ।

आज चाँदीको भाउ स्थिर रहँदै १ हजार ३२० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामै २५ रुपैयाँ घट्दै चाँदीको भाउ १ हजार ३२० रुपैयाँ कायम भएको थियो।