काठमाण्डौ । नेपाली बजारमा आज मंगलबार सुनको भाउमा पहिरो गएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ७०० रुपैयाँको गिरावट आएको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँमा झरेको छ। 

हिजो सोमबार सुनको भाउमा २०० रुपैयाँको बढोत्तरी भएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यो साता कारोबारको पहिलो दिन आइतबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँ कायम भएको थियो। 

गत शुक्रबार तोलामा ४०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँ कारोबार भएको थियो। 

आज चाँदीको भाउमा पनि भारी गिरावट आएको छ। यो दिन तोलामै ९० रुपैयाँ घट्दै चाँदीको भाउ १ हजार २३० रुपैयाँमा सीमित बनेको छ। 

हिजो सोमबार तोलामा ५ रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आइरहेको गिरावटको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीहरु बताउँछन्। विश्व महामारी कोरोनाभाइरसविरुद्धका खोपहरुको विकास हुने सम्भावना बढ्दै जानु र अधिकांश देशले व्यापार–व्यवसाय खोल्न थाल्नुले पनि सुनको भाउमा गिरावट आउन थालेको उनीहरुको भनाइ छ। 

यसअघि कोरोनाका कारण लगानीका अन्य क्षेत्र ठप्प हुँदा सुनमा पैसा खन्याउने क्रम बढेको थियो। जसका कारण सुनको मागसँगै भाउ आकासिएको थियो। 

अवस्था सामान्य बन्दै गए सुनको भाउ अझै घट्न सक्ने विज्ञहरु बताउँछन्।