काठमाण्डौ । सुनको भाउमा आइरहेको लगातारको गिरावटले आज बिहीबार पनि निरन्तरता पाएको छ। आज पनि सुनको भाउमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार २०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार पनि सुनको भाउ तोलामै १ हजार २०० रुपैयाँको गिरावट आएको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

गत मंगलबार पनि सुनको भाउमा १ हजार ७०० रुपैयाँको गिरावट आएको थियो। उक्त दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार रुपैयाँमा कारोबार भएको थियो। 

गत मंगलबारयता सुनको भाउ तोलामै ४ हजार १०० रुपैयाँको गिरावट आइसकेको छ। 

आज चाँदीको भाउमा पनि पहिरो जाने क्रमले निरन्तरता पाएको छ। आज पनि तोलामै ७० रुपैयाँको गिरावट आउँदै चाँदीको भाउ १ हजार १२० रुपेयाँ कायम भएको छ। 

हिजो बुधबार पनि तोलामा ४० रुपैयाँ घटेको चाँदीको भाउ गत मंगलबार ९० रुपैयाँले घटेको थियो। 

मंगलबारयता मात्रै चाँदीको भाउ तोलामै २०० रुपैयाँले घटिसकेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आइरहेको गिरावटको प्रत्यक्ष असर नेपालमा परेको सुनचाँदी व्यवसायीहरु बताउँछन्। विश्व महामारी कोरोनाभाइरसविरुद्धका खोपहरुको विकास हुने सम्भावना बढ्दै जानु र अधिकांश देशले व्यापार–व्यवसाय खोल्न थाल्नुले पनि सुनको भाउमा गिरावट आउन थालेको उनीहरुको भनाइ छ। 

यसअघि कोरोनाका कारण लगानीका अन्य क्षेत्र ठप्प हुँदा सुनमा पैसा खन्याउने क्रम बढेको थियो। जसका कारण सुनको मागसँगै भाउ आकासिएको थियो। 

अवस्था सामान्य बन्दै गए सुनको भाउ अझै घट्न सक्ने विज्ञहरु बताउँछन्।