काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ पुनः ओरालो लाग्न थालेको छ।

विश्व महामारी कोरोनाभाइरसविरुद्धको केही खोपहरुमा आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको हो। खोपहरुमा आशा पलाउनुका साथै विश्वका अर्थव्यवस्थाहरु खुला हुन थालेपछि लगानीकर्ताहरुले सुरक्षित मानिने सुनमा लगानी घटाएर अन्य क्षेत्रमा लगानी बढाउन थालेसँगै सुनको भाउ घट्न थालेको छ।

आज नेपाली बजारमा सुनको भाउ तोलामै ७०० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ९०० रुपैयाँमा सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तिहार बिदापछि हिजो बुधबारबाट सुनको कारोबार खुलेको थियो। हिजो पनि सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९५ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले ओरालो लागेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २१५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।