काठमाण्डौ । सुनको भाउमा लगातार आइरहेको गिरावटमा ब्रेक लागेको छ। सुनको भाउ आज आइतबार बढेसँगै ओरालो यात्रामा ब्रेक लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले उकालो लागेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेर प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। गत साताभरि सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको थियो।

यसैगरी आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार २१० रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो। गता साताभरि चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको थियो।