काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य फेरि आकाशिएको छ । दैनिकजसो उछालको गतिमा बढेर सुनको भाउले रेकर्ड बनाइरहेको बेला सोमबार समेत सर्वाधिक मूल्यको अर्को रेकर्ड कायम भएको छ । 

आइतबारको तुलनामा प्रति तोलामा ५०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला ७६००० रुपैयाँको ऐतिहासिक उचाईमा पुगेको हो । नेपालमा सुनको भाउ बढेर प्रति तोलाकै ७६ हजारको उचाईमा कहिल्यै पुगेको थिएन। 

खाडीमा अमेरिकाका कारण तनाव बढेपछि यसले सुनको मूल्यलाई टेवा पुगेको हो । खाडी क्षेत्रमा तनाव बढेकै कारण कच्चा तेलको मूल्य समेत बढिरहेको छ । 
नेपाली बजारमा सोमबार फाइन गोल्ड प्रतितोला ७६ हजार र स्ट्याण्डर्ड गोल्ड प्रतितोला ७५७०० रुपैयाँमा किनबेच भएको छ । 

सुनको भाउ पुस महिनामा मात्रै ६.२९ प्रतिशतले बढिसकेको देखिएको छ । पुस १ गते नेपाली बजारमा फाइन गोल्ड प्रतितोला ७१ हजार ५०० मा कारोबार भएको थियो । 

पछिल्लो समय पुस १८ गतेदेखि दौडिएको सुनको मूल्यमा ब्रेक लाग्ने छाट अझै देखिएको छ । पुस १८ गते सो अवधिसम्मकै सर्वाधिक प्रतितोला ६४ हजार ५०० कायम भएको मूल्य पुस २० गते ७५ हजार ५०० र पुस २१ गते(आज) ७६ हजार कायम भएको हो । 

खाडीको तनावले अन्तराष्ट्रिय बजारमै पनि सुनको मूल्य आकाशिएको छ । हाल अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस १५७४ डलर भन्दा माथि पुगिसकेको छ । त्यही मूल्यको असर नेपाली बजारमा समेत परेको हो। 

सुनसँगै चाँदीको मूल्यमा समेत उछाल आइरहेको छ । आइतबार प्रतितोला ९०० रुपैयाँ रहेको चाँदीको मूल्य बढेर सोमबार प्रतितोला ९२० को उचाईमा पुगेको हो । चाँदीको मूल्य समेत अझै बढ्नसक्ने आँकलन गरिएको छ ।