काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्य नेपाली बजारमा बुधबार पनि बढेको छ । मंगलबारसम्म प्रति तोला ५७ हजार ३०० रुपैयाँ रहेको फाइन गोल्डको मूल्य बढेर बुधबार प्रति तोलामा २०० रुपैयाँ वृद्धि भई ५७ हजार ५०० पुुगेको हो । 

यहीकारण पछिल्लो ६ दिनमै प्रति तोला सुनको मूल्यमा १५०० रुपैयाँले बढिसकेको छ । यसरी ६ दिनको अवधिमा सुनबाट लगानीकर्ताले करिब ३ प्रतिशतको हाराहारीमा रिटर्न पाएका छन् ।  

सोमबार सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ वृद्धि भई प्रतितोला ५७ हजार ३ सय कायम भयो । 

भदौ १५ गते सुनको भाउ प्रतितोला ५६ हजार रहेको थियो । त्यसपछि हरेक दिनजसो बढ्दै भदौ २१ गते(बुधबार)सम्म आइपुुग्दा सुनको भाउ तोलामा १ हजार ५ सयले बढिसकेको छ । 

भदौ १ गते सुनको भाउ प्रतितोला ५५ हजार ५ सय रुपैयाँ रहेको थियो । यसरी भदौमा मात्र सुनको भाउ प्रतितोलामा २ हजारले वृद्धि भइसकेको छ । 

बुधबार कायम सुनको भाउ यो वर्षकै मात्र नभई गत १४ महिनाकै उच्च हो ।

चाँदीको मूल्य भने मंगलबारकै कायम छ । भदौ १५ गते प्रति तोला ७६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी त्यसपछि प्रत्येक दिनजसो वृद्धि भई मंगलबारसम्म आइपुुग्दा ७ सय ९० रुपैयाँ कायम भएको हो, बुधबार पनि यही विन्दूमा अडियो । 

किन बढ्दैछ भाउ ?
उत्तर कोरिया र अमेरिकाबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय क्षेत्रको लगानीको वातावरण बिग्रिएको छ । यहीकारण सुरक्षित लगानीका लागि सेयरबजार, डलरबाट लगानी झिकेर अधिकांश कारोबारीले सुनमा लगानी बढाएका छन् । माग उच्च भई अन्तराष्ट्रिय बजारमै मूल्य समेत बढिरहेको छ । अन्तराष्टिय बजारमा सुनको मूल्य प्रतिऔंस १३५० डलर नजिक पुुगिसकेको छ । 

अन्तराष्ट्रिय बजारमै सुनको भाउ हरेक दिनजसो बढिरहँदा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको हो । कोरिया र अमेरिकाबीचको तनाव तत्काल शान्त नहुने अवस्था देखिएका कारण आगामी दिनमा सुनको भाउ अझै माथि पुुग्नसक्ने प्रक्षेपण गरिएको छ । अन्तराष्ट्रिय बजारमा प्रति औंस १३५० डलर भाउ पुुग्दा नेपालमा ५८ हजारको उचाई चुम्नेछ । सुनको भाउ त्यसभन्दा पनि माथि पुुगेर दशैंअगाडिसम्म प्रति तोला ६० हजारसम्म पुुग्नसक्ने संभावना देखिएको विश्लेषकहरुको दाबी छ । 

अन्तराष्ट्रिय बजारमा सुनको भाउ बुधबार केही घटेको छ । ०.३२ डलरले घटेर बुधबार सुनको भाउ प्रति औंस १३३८.८८ डलरमा झरेको हो । अन्तराष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भने बढेको छ । यसलाई चाडपर्वको अवसरमा आन्तरिक बजारमा समेत माग केही बढ्न थालेको हो कि भनी बुुझ्न सकिन्छ ।