काठमाण्डौ । अमेरिकाको केन्द्रीय बैंकको बहुुप्रतिक्षित बैठकले बिहीबार ब्याजदर वृद्धिको निर्णय गरेसँगै सुनको भाउमा झनै ठूलो पहिरो गएको छ । 

सुनसँगै शुक्रबार चाँदीको मूल्यमा पनि पहिरो गएको देखिएको छ । 

अमेरिकी अर्थतन्त्र सवल बन्दै गएको भन्दै त्यहाँ ब्याजदर वृद्धिको निर्णय भएसँगै डलरको मजबुुती बढेको र यसले सुुनको भाउको मूूल्य घटाउन दवाब परेको हो । 

नेपालमा कारोबार हुुने सुनको भाउ पनि अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा पहिरो गएपछि त्यसको प्रभाव नेपालमा समेत परेको हो । 

केही दिनअघिदेखि अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउने अनुुमानमा समेत सुुनको भाउ ओरालो लाग्ने क्रम सुरु भएको थियो । एक महिनाको अवधिमा सुनको भाउमा निकै ठूलो पहिरो गइसकेको छ । केही हप्ताअघिसम्म प्रति तोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ नेपाली बजारमा शुक्रबार घटेर ५१ हजार ७ सयमा आइपुुगेको हो । बिहीबार सुुन प्रति तोला ५२ हजार १ सयमा कारोबार भएको थियो । यसरी शुक्रबार एकैदिन सुुन प्रति तोलामा ४ सयले सस्तिएको हो । बुधबारको तुलनामा बिहीबार पनि सुन प्रति तोलामा ५ सय सस्तिएको थियो । 

शुक्रबार कायम भएको सुुनको मूल्य २०७२ माघ २० गतेको अवस्थामै पुुगेको हो । सो दिन पनि प्रति तोला सुन ५१ हजार ७ सयमा कारोबार भएको थियो । त्यसपछि हालसम्म कुनै पनि दिन सुन त्यो भन्दा तल झरेको थिएन । 

यसैबीच, सुनको मूल्य निरन्तर ओरालो लागेपछि यसले चाँदीको भाउ घटाउन समेत दवाब परेको छ । यही कारण चाँदीको भाउमा समेत शुक्रबार सानोतिनो पहिरो नै गएको छ । बिहीबार प्रति तोला ७९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा २५ रुपैयाँ घटी ७६५ रुपैयाँ कायम भएको हो । मंसिर महिनामा चाँदी उच्चतम प्रति तोला ८ सय रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम ७८५ रुपैयाँमा कारोबार भएको थियो । तर पुसको पहिलो दिन नै चाँदीको मूल्यमा २५ रुपैयाँले कमी आएको हो । चाँदीको मूल्य पनि आगामी दिनमा अझ तल झर्नसक्ने अनुमान गरिएको छ । 

ग्लोबल मार्केटमा पनि उस्तै
सुनको मूल्य ग्लोबल मार्केटमा पनि उस्तै गरी घटिरहेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार ग्लोबल मार्केटमा सुन १० महिनाकै सस्तो भएको छ । प्रति औंस सुनको मूल्य ११३८ डलरसम्म झरिसकेको हो । केही दिनको अन्तरालमै ११६४ डलर मूल्य ११३८ मा झरेको हो । 

विज्ञहरुले सुनको भाउ अझ घट्ने दाबी गरिरहेका छन् । नेपालका विज्ञहरुले समेत सुनको भाउ ४८ हजार प्रति तोलाको स्तरमा आउनसक्ने प्रक्षेपण गरिरहेका छन् ।