काठमाण्डौ । अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक वातावरण बिग्रिएका कारण विगत एक महिनाको अवधिमा सुनको मूल्य घरेलु बजारमा प्रति तोलामा १९ सय रुपैयाँले बढिसकेको छ । साउन १ गते प्रति तोला ५३ हजार ५ सय रहेको सुनको मूल्य ५५ हजार ४ सयको उचाई छोएर बुधबार ५५ हजारमा कारोबार भयो । 

यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ महिनाकै उच्च विन्दूमा छ । अन्तर्राष्ट्रिय क्षेत्रका कमोडिटी एक्सपर्टहरुले सुनको पक्षमा यस्ता अन्तर्राष्ट्रिय तत्व, कारण र परिवेश विकास भएका छन्, जसका कारण आउने दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले २ वर्षकै उच्च विन्दूको रेकर्ड समेत तोडिदिनसक्ने दाबी गरेका छन् । यही अवस्था रहे निकट भविष्यमै सुनको नेपाली मूल्य प्रतितोला ५७ हजार माथि पुुग्नसक्ने पनि कतिपयको प्रक्षेपण छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अहिलेसम्म १२ प्रतिशत बढिसकेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सुनको मूल्यले प्रति औंस १३ डलरको उचाई चुमिसकेको छ । 

सुनको मूल्य बढ्नसक्ने ४ कारण
१.अन्तर्राष्ट्रिय क्षेत्रका कमोडिटी विज्ञहरुलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरुमा लेखिए अनुसार अमेरिका र उत्तर कोरियाबीच बढिरहेको तनावको वातावरणले अन्तर्राष्ट्रिय क्षेत्रकै राजनीतिक वातावरण धूमिल बन्दै गएको छ। यो तनावको अवस्था अझै केही सातासम्म रहने अनुमान गरिएको छ । यहीकारण विश्वभरका प्रमुख सेयर बजारमा बिक्रीको चाप ह्वात्तै बढेको छ । लगानीकर्ताहरुले इक्वीटी मार्केटबाट पैसा निकालेर सेफ हेभन(सुरक्षित स्वर्ग)को रुपमा चिनिएको सुनमा लगानी गरिरहेका छन् । यहीकारण आगामी दिनमा समेत सुनको मूल्यमा अझ तीव्रता आउन सक्नेछ । 

२.अमेरिकामा मुद्रा स्फितिको डाटा कमजोर बन्दै गएको छ । यही कारण आउने दिनमा यूएस फेडद्वारा ब्याजदरमा बढोत्तरीको संभावना निकै न्यून छ । यो अवस्था सुनका लागि सकारात्मक साबित हुनसक्छ । 

३.अघिल्लो आर्थिक वर्ष नेपालको सेयर बजारले ऐतिहासिक उचाई चुमेको थियो । अहिले समेत नेप्से परिसूचक १६ सयभन्दा माथि नै छ । धेरै कम्पनीको मूल्य यो बेला बढेको छ । तर, कतिपयले तीव्र उतारचढाव समेत भोगेका छन् । तर, यो अवधिमा सुनको मूल्यमा खासै ठूलो बढोत्तरी भएको छैन । वैश्विक अनिश्चितताको असर घरेलु बजारमा समेत पर्नसक्छ, जसका कारण सुनमा बढी फाइदा हुने देखेर लगानीकर्ताले सुरक्षित लगानीका लागि सुनको खरिदारी बढाउन सक्छन् । यदि यस्तो भयो भने स्वभाविक रुपमा माग बढी मूल्य वृद्धिलाई समेत टेवा मिल्नेछ । 

४.नेपालमा हरितालिका तिज लगायतका प्रमुख चाडपर्व सुरु हुन लागेका छन् । योसँगै विवाहको सिजन समेत सुरु हुनेछ । आउने दिनमा धनतेरष(दीपावली), लक्ष्मीपूजा, विवाहको मौसम, तिज लगायतको अवसरमा सुनको माग बढ्नेछ । यसले समेत सुनको मूल्य बढाउन मद्धत पुुग्नेछ । 

कतिसम्म महंगो होला ?
बितेका केही महिनाको कुरा गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १२०० डलरदेखि बढेर १३०० डलरसम्म पुुगिसकेको छ । अहिले यो मूल्यमा सामान्य गिरावट आएको छ । तर, आगामी दिनमा पुनः सुनको मूल्यले प्रति औंस १३ सय डलरको स्तर ब्रेक गर्यो भने त्यसपछि भने प्रति औंस १३७५ डलरको उचाईसम्म पुुग्नसक्ने आँकलन गरिएको छ । केही छोटो समयका लागि नै भए पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३५० माथि जानसक्नेमा धेरै विज्ञहरुको एकमत छ । 

अन्तराष्ट्रिय तनावमा किन बढ्छ सुनको मूल्य ?
विज्ञहरुका अनुसार लगानीकर्ताको जोखिम बहन गर्ने क्षमतामा परिवर्तन आएको छ । ग्लोबल टेन्सन(तनाव)को माहौलमा सेयर बजारमा अनिश्चितताको बादल मडारिन थाल्छ र लगानीकर्ताले इक्वीटीको साटो सुनमा लगानी बढाउन चाहन्छन । विगत केही वर्षहरुको तथ्यांकले यो पनि पुष्टि गरेको छ कि सुनमा लामो समयसम्म गरिने लगानीले सधैं राम्रो रिटर्न नै दिएको छ । यहीकारण पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच तनाव बढेकै कारण एकमहिनाको अवधिमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ६ प्रतिशतले वृद्धि भइसकेको छ ।