काठमाण्डौ । लगातार ओरालो लागेको सुनको भाउ बुधबार तोलामा रु ६०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा रु ६०० ले बढेर सुन प्रतितोला छापावाल ६९ हजार ८००  र तेजाबी ६९ हजार ५०० रुपैयाँ पुगेको छ ।

लगातार दुई सातादेखि सुनको भाउमा गिरावट आइरहेको थियो । पहेँलो धातु सुनको भाउ फेरि आज मंगलबार एकैपटक तोलामा ८०० रुपैयाँ घटेको थियो । मंगलबार तोलामा ८०० रुपैयाँले घटेर सुनको भाउ प्रतितोला छापावाल ६९ हजार २०० रुपैयाँ र तेजाबी ६८ हजार ९०० मा झरेको थियो ।

कारोबारको दोस्रो दिन सोमबार तोलामा २०० रुपैयाँले घटेको सुनको भाउ प्रतितोला छापावाल ७१ हजार र तेजाबी ७० हजार ७०० रुपैयाँ कायम भएको थियो । अघिल्लो दिन आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला छापावाल ७१ हजार २०० र तेजाबी ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाडपर्वको सिजन सुरु भइसकेको अवस्थामा नेपाली बजारमा सुनको भाउ भने लगातार घटिरहेकोकै बेला बुधबार भाउ बढेको हो । भाउ घट्दै गर्दा बजारमा सुनको कारोबार पनि बढ्न थालेको छ ।

गत भदौ ९ गते नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्चतम विन्दुमा पुगेको थियो । त्यो दिन सुन प्रतितोला छापावाल ७३ हजार ५०० र तेजाबी ७३ हजार २०० रुपैयाँ पुगेको थियो । सुनको भाउ उच्चतम विन्दुमा पुग्दा कारोबार प्रायः ठप्प भएको थियो । अमेरिका–चीन व्यापार युद्ध, जम्मु–काश्मीर विवाद र डलरको मूल्य नेपाली मुद्राभन्दा बलियो हुँदा सुनको भाउ निकै बढेको अर्थ विश्लेषकहरुले बताएका थिए ।