काठमाण्डौ । लगातार सर्वाधिक उचाइ कायम गरिरहेको सुनको भाउ बिहीबार एकैपटक तोलामा १ हजार रुपैयाँले घटेको छ ।

इरान र अमेरिकाबीच उत्पन्न तनावका कारण बढ्दै गरेको सुनको भाउ बुधबार एकाएक घटेको हो । इरान र अमेरिकाबीचको तनाव साम्य हुन संकेतसँगै अब सुनको भाउ पनि घट्दै जाने विश्लेषकहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ हजार रुपैयाँले घटेर सुन प्रतितोला छापावाल ७५ हजार ५०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार तोलामा एकैपटक १ हजार रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ कायम भएको थियो । यो भाउ नेपाली बजारमै अहिलेसम्मको सुनको सर्वाधिक मूल्य हो ।

अमेरिका र इरानबीच उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरुले धन सुरक्षाका लागि सुनको खरिद चाप बढाएपछि मागसँगै मूल्य पनि आकासिएको हो । यद्यपि अमेरिकातर्फबाट हिजो सार्वजनिक वक्तव्यबाट तनाव साम्य हुने अवस्था आउन सक्ने संकेत पाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्ने र त्यसको प्रभाव नेपाली बजारमा पनि पर्ने अर्थविज्ञहरु बताउँछन् ।