काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ दिनानुदिन बढ्दै नयाँ रेकर्ड कायम भइरहेको छ ।

छापावाला सुन प्रतितोला मंगलबार पनि रु. २०० बढेर ६८ हजारमा खरिदबिक्री भइरहेको छ । यो नेपाली बजारकै इतिहासमा सुनको मूल्यमा यति उचाइमा पुगेको पहिलोपटक हो ।

नेपाली बजारमा गत आइतबारदेखि तीन दिनको अवधिमा २ हजार २०० रुपैयाँ प्रतितोला बढिरहेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार ५०० रुपैयाँ प्रतितोला बढेको सुनको मूल्यमा सोमबार एकाएक १ हजार ५०० रुपैयाँ बढ्यो भने मंगलबार फेरि २०० रुपैयाँ बढेर ६८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाला सुन प्रतितोला मंगलबार २०० रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको छ । यो नेपाली बजारमा सुनको मूल्य अहिलेसम्म सबैभन्दा उचाइमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएको नेपाली बजारमा यसको प्रभाव पर्दै गएको महासंघको भनाइ छ । सुनको भाउ अझै बढ्न सक्ने महासंघको अनुमान छ ।

नेपाली बजारमा मंगलबार तेजाबी सुन प्रतितोला २०० रुपैयाँले बढेर ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन सोमबार प्रतितोला ६७ हजार ५०० रुपैयाँ कारोबार भएको छ ।

सुनको भाउ बढेसँगै बजारमा सुन किन्नेभन्दा बेच्नेको चाप बढेको सुन कारोबारीहरु बताउँछन् ।