-भक्तराज रसाइली 
काठमाण्डौ । ब्रोकरहरुद्वारा प्रवाह हुने मार्जिन लेण्डिङ सुविधा सुपर फ्लप भएको छ ।

नेपाल स्टक एक्सचेञ्जबाट २२ ब्रोकर कम्पनीले मार्जिन ऋण प्रवाह गर्न अनुमति लिएतापनि यो नयाँ प्रडक्ट सुपर डुपर फ्लप भएको हो । 

यसैवर्ष अनुमति लिएका २२ ब्रोकर कम्पनीमध्ये मार्जिन ऋण प्रवाह गर्न १७ ब्रोकर कम्पनीले मात्र लाइसेन्स नवीकरण गरेका छन् । बाँकी ७ कम्पनीले नवीकरणमा चासो नदिनु पछाडि प्रडक्ट फेल नै मुख्य कारण रहेको देखिन्छ । 

स्टक ब्रोकरहरुले नै मार्जिन कारोबारमा चासो नदिएका र ब्रोकरहरुकै लापरवाहीले प्रडक्ट असफल भएको नेप्सेका एक अधिकारीको आरोप छ । 

मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधिमा समेत ब्रोकरहरु चाहनाअनुसार संसोधन गर्न ड्राफ्ट बनाउने काम धमाधम भइरहेको ती अधिकारीले दाबीसमेत गरे । ब्रोकरहरुले कार्यान्वयनमा सहयोग नगरिदिँदा प्रडक्ट फ्लप भएको ती अधिकारी बताउँछन् ।

ब्रोकरद्वारा मार्जिन ऋण प्रवाहका लागि ल्याइएको मार्जिन कारोबार सुविधामा सोचाइ, नियत र भोगाइको तालमेल नभएका कारण नै प्रडक्ट फ्लप भएको एक ब्रोकरको भनाइ छ । अन्तर निकाय समन्वयको अभाव रहने र प्रडक्ट फेल हुने देखेर नै आफूले मार्जिन कारोबारका लागि लाइसेन्स नलिएको ती ब्रोकरको जिकिर छ । 'खेल खेल्छौं भलिबलको, तर नियम फुटबलको भएपछि फेल त अवश्य नै भइहाल्छ नि ।'-ती ब्रोकरले भने ।

स्टक ब्रोकर कम्पनीको चुक्तापूँजी र रिजर्भबाट मार्जिन ऋण प्रवाह गर्नुपर्ने व्यवस्थाले मार्जिन लेण्डिङ फ्लप भएको विश्लेषक हेमन्त बस्यालको भनाइ छ। मुख्यतया ब्रोकरसँग तलरताका लागि वित्तीय स्रोत अभाव भएकाले पनि मार्जिन कारोबार सम्भव नभएको उनको तर्क छ । 'बैंक तथा वित्तीय संस्थासँग ब्रोकर लिंकअप हुनुपर्छ।' उनले भने-'अन्तर्राष्ट्रिय बजारमा ब्रोकरले वित्तीय संस्थाको पनि काम गर्छ, त्यसैले नेपालमा पनि ब्रोकरका लागि फण्ड सिर्जना गर्नुपर्छ ।'

ब्रोकर र नेप्सेबीच नै तालमेल नमिलेका कारण मार्जिन कारोबार सुविधामा सेयर लगानीकर्ताहरुले पनि चासो देखाएका छैनन् ।

मार्जिन कारोबार सेवा सुचारु भएपछि यसले बजारमा सकारात्मक तरंग ल्याउँछ भन्ने विश्लेषण हुने गरेको थियो । तर, यो व्यवस्थाका केही अप्ठ्यारा शर्त, सीमा र बन्देजहरुले त्यस्ता विश्लेषण नै गलत साबित गरिदिएको छ ।

हिजोआज सेयर बजार बढ्न थालेपछि लगानीकर्ताहरु भने ब्रोकर अफिस छाडेर सिंगल डिजिटको ब्याजदरमा सेयर धितोकर्जा प्राप्तिका लागि बैंक धाइरहेका छन् । लगानीकर्ता हरेराम घिमिरे बुलिस बजारमा राम्रो पैसा कमाउने उद्देश्यले सहज र सरल ब्याजदरमा सेयर कर्जा प्रवाह गर्ने बैंकमा आफूजस्ता लगानीकर्ताको दौडधूप बढेको जिकिर गर्छन् । उनले ब्रोकरबाटै मार्जिन सुविधा पाइने भनिए पनि यसका कतिपय अप्ठ्यारा व्यवस्थालाई कारण देखाउँदै आफूले कारोबार गर्ने ब्रोकरहरुले यो सुविधा कार्यान्वयनमा चासो नदेखाएका दाबी गरे ।
 
मार्जिन कारोबार उपलब्ध भएको जानकारी दिनका लागि ब्रोकरहरुले सार्वजनिक वा विज्ञापन गर्नमा नियामक निकायले बन्देज लगाएका छन् ।

यहीकारण समेत सर्वसाधारण लगानीकर्ताहरुले यो सेवाको विषयमा पर्याप्त सूचना पाउन सकेनन् । यो सेवाको सूचना प्रवाहमा समेत अवरोध हुँदा अन्ततः अन्य देशको पूँजीबजारमा सुपरडूपर भएको मार्जिन लेण्डिङको सेवा नेपालमा भने सुरु नहुँदै तुहियो ।