काठमाण्डौ । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज माघ २३ गते बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज बिहान आयोजित एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो।

कम्पनीले गत माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री गरेको थियो। कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँमध्ये १०० अंकित दरका कुल २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता बिक्री गरेको थियो। त्यसमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

सानिमा क्यापिटलका अनुसार यो आईपीओमा १३ लाख ४ हजार २०८ आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६३० कित्ताका लागि खरिद आवेदन दिएका थिए। तीमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट परेको १ करोड ४४ लाख ४६ हजार ५६० कित्ता सेयर सदर भएको छ। बाँकी ४ हजार ५१५ आवेदकबाट परेको ८१ हजार ७० कित्ता सेयर बदर भएको छ। 

मागभन्दा बढी आवेदन परिसकेका कारण यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट गरिएको छ। जसमा भाग्यमानी १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये ११ लाख २४ हजार ३९३ आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक, धितोपत्र निष्कासन गर्ने कम्पनी र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।