काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यवसायिक प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”लाई आइतबार उनकै निवास खुमलटारमा भेट गरेको छ । 

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र सदस्यहरू समेत सहभागी रहनु भएको प्रतिनिधिमण्डलले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा केही दिनअघि भएको विस्फोट र तत्पश्चात उत्पन्न व्यवसायिक सुरक्षाका विषयमा ध्यानाकर्षण गरायो । 

प्रतिनिधिमण्डलको तर्फबाट महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले अहिले व्यवसाय गर्ने वातावरण असजिलो भइरहेको दाबी गरे । लगानी सम्मेलन नजिकिँदै गरेको अवस्थामा देशमा घटिरहेका विभिन्न किसिमका घटनाहरूले व्यावसायीहरू त्रसित भइरहेका उनले जानकारी दिए ।

महासंघका उपाध्यक्ष ढकालले सुरक्षा लगायत विभिन्न कारणले वैदेशिक रोजगार व्यवसाय संचालन गर्न कठिनाई परेको जानकारी गराए । 

सो भेटवार्ताका क्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङले घटनाबारे विस्तृत जानकारी गराउँदै व्यवसाय संचालनमा समस्या भइरहेको बताएका थिए । 

भेटका अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरूबाट व्यवसाय सुरक्षाको प्रत्याभुति हुनुपर्ने, व्यवसाय गर्न वातावरण सुधार गर्नुपर्ने लगायतका धारणा राखेका थिए । 

सो अवसरमा नेकपाका अध्यक्ष दाहालले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट समेत समस्याको विषयमा संबोधन गर्ने प्रयास भइरहेको जानकारी गराएका थिए । सरकार व्यवसाय र व्यवसायीहरूको व्यवसायिक सुरक्षाको निमित्त सदैव संवेदनशील रहेको बताउँदै व्यवसायीहरूको नोक्सानीको क्षतिपूर्ति दिलाउन पनि सरकारसँग छलफल गर्ने निजी क्षेत्रलाई उनले आश्वासन दिए ।