काठमाण्डौ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा मंगलबारदेखि ‘नाडा अटो शो २०१६’ सुरु भएको छ । 

नेपाल अटोमोबाइल्स् डिलर्स एशोसियशन(नाडा)को आयोजनामा सुरु भएको सवारी साधनको कुम्भ मेलाको मंगलबार एक समारोहकाबीच अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे । 

नाडाका अनुसार चार पाङ्ग्रे, दुई पाङ्ग्रे सवारी र सवारीजन्य उत्पादनहरुको कुम्भ मेला भदौ १९ गतेसम्म संचालन हुनेछ । मेलामा ३६ वटा ब्राण्डका सवारी साधन र दर्जनौ ब्राण्डका सवारीजन्य उत्पादन समेत राखिएका नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार नाडा अटो शोमा १६ वटा ब्राण्डका चार पाङ्ग्रे , १५ वटा ब्राण्डका दुई पाङ्ग्रे र ५ वटा ब्राण्डका कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको छ । 

मेलामा एनएमबी बैंक, मेगा बैंक, एनआइसी एशिया लगायत करिब एकदर्जन बैंकको स्टल समेत राखिएको छ । यी बैंकहरुले आफ्ना स्टलबाट गाडी खरीद गर्नका लागि सहज ढंगले कर्जा उपलब्ध गराइरहेका छन् ।

बैंकहरुको अलग्गै पेभेलियन रहेको छ । यस्तै, चार पांग्रे, दुई पांग्रेका पेभेलियन समेत अलग अलग छ । 
मेलामा लुब्रिकेन्ट्स, स्पेयर पार्टस, टायर लगायतका स्टलहरु समेत राखिएका छन् । 

कम्पनीहरुले मेला अवधिभरमा सवारी साधन खरीद गर्नेहरुलाई विभिन्न अफर समेत सार्वजनिक गरेका छन् । ठूला चाडपर्वको पूर्वसन्ध्यामा नाडा अटो शो आयोजना भएका कारण खरीदकर्ताको समेत चाप बढ्ने आयोजकको दाबी छ । 

आयोजक नाडाका अनुसार १९ गतेसम्म चल्ने मेलामा ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला अवधिमा करिब २ सय करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । 

नाडा अटो शोका दृश्यहरु तल राखिएको छ । प्रत्येक फोटोमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।