काठमाण्डौ । ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड’ नै राम्रो भन्ने मूल नाराका साथ राजधानीको भृकुटी मण्डपमा बुधबारदेखि राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीको छैठौं संस्करण सुरु भएको छ । 

यो प्रदर्शनीको आयोजना नेपाल छाला जुत्ता तथा वस्तु उत्पादक संघले गरेको हो । 

बुधबार एक समारोहका बीच प्रदर्शनीको समुद्घाटन उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे श्रेष्ठले गरे। 

सो अवसरमा माननीय मन्त्री वादेले लघु उद्योगलाई उद्योगको रुपमा स्थापित गर्न पहल गर्ने तथा उद्यमीलाई उद्योग चलाउनका निमित्त सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने बताए । साथै, विदेशमा रहेका नेपालीलाई छालाजन्य वस्तुको उद्योग खोल्नलाई प्रेरित गरे वैदेशिक रोजगारीको भरपर्दो विकल्प हुने र यो मुलुकका लागि आयात प्रतिस्थापन गर्ने ठूूलो सम्भावना बोकेका उद्योगको रुपमा देखा परेको हुँदा समयमै सबैले यसतर्फ ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा संघका अध्यक्ष जीवन नेपालीले मेलाले उद्योगीलाई हौसला प्रदान गर्ने तथा आफ्नै ब्राण्डको जुत्तालाई बजारीकरण गर्न सहयोग मिल्ने बताए । मेलामा बिक्री भएका सबै जुत्ता तथा चप्पलहरुमा ६ महिना वारेन्टी तथा १५ देखि २५ प्रतिशतसम्म छुट दिइएको तथा प्रवेश निशुल्क गरिएको मेला संयोजक राजेश विशंखेले जानकारी दिए । 

मेलामा करीब ५० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य आयोजकले लिएको छ । मेलामा प्रतिष्ठित ब्रान्डका गुणस्तरीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गरिने छ । यस मेलामा पछिल्ला उत्पादनहरु भन्दा नितान्त नयाँ मोडलका आधुनिक छालाजन्य वस्तु प्रर्दशन गरिने जनाइएको छ । यो मेला फाल्गुण १९ गते सम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।