काठमाण्डौ । सरकारले विभिन्न देशका लागि नियुक्त अवैतनिक महावाणिज्य दूतहरुले पाउँदै आएको नीलो नम्बर प्लेट र नेपाली झण्डाको सुविधा खारेज गरिदिएको छ । 

एक अवैतिनक महावाणिज्य दूतले नीलो नम्बरप्लेटको दुरुपयोग गरी सोही गाडीबाट अत्यावश्यक स्वास्थ्य सामाग्रीको कालोबजारी गरिरहेको पुष्टि भएपछि परराष्ट्र मन्त्रीले यस्तो निर्णय गरेका हुन् । 

मन्त्रीस्तरीय निर्णयको विषयमा मन्त्रालयले केहीबेरअघि विज्ञप्ति समेत सार्वजनिक गरी जानकारी गराएको छ । 

नेपालमा विभिन्न देशका लागि नियुक्त भएका ४७ महावाणिज्य दूतहरु रहेका छन् । अब उनीहरुले अर्को निर्णय नभएसम्मका लागि आफ्नो गाडीमा नीलो नम्बर प्लेट र नेपालको झण्डा प्रयोग गर्न पाउने छैनन् । 

यो निर्णय तत्काल लागू भएको समेत मन्त्रालयले प्रष्ट पारेको छ । 

मंगलबार किर्गिस्तानका लागि सरकारका महावाणिज्यदूत समेत रहेका शंकर ग्रुपका मालिक तथा जगदम्बा स्टीलका संचालक सुलभ अग्रवालले नीलो नम्बर प्लेट लगाएको आफ्नो गाडीबाट ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरिरहेको भेटिएपछि सरकारले आकस्मिक रुपमा यस्तो निर्णय गरेको हो । 

बजारमा रु. ३५०० पर्ने थर्मल गन रु. १५००० सम्ममा बिक्री गरिरहेको अवस्थामा रंगेहात पक्राउ परेका सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा लिई अनुसन्धान अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौले प्रहरीलाई बुधबार नै अनुमति दिइसकेको छ ।