काठमाण्डौ । ज्वरो नाप्ने थर्मन गन कालोबजारीको आरोपमा नीलो नम्बर प्लेटको झण्डावाल गाडीसँगै पक्राउ परेका शंकर ग्रुपका मालिक तथा जगदम्बा स्टीलका संचालक सुलभ अग्रवालले आफूले गल्ती गरेको भन्दै प्रहरीसँग बिलौना गरेका छन् । 

दरबारमार्गस्थित प्रहरी हिरासतमा राखिएका उनले बिहीबार बयान दिने क्रममा प्रहरीसँग यस्तो बिलौना गरेका हुन् । 

प्रहरी स्रोतका अनुसार पक्राउ परेको दिन र बुधबारको तुलनामा बिहीबार उनको बयान पूरै परिवर्तन भएको थियो । प्रहरीले लिएको बयानमा उनले आफूबाट ठूलो भूल भएको भन्दै माफी दिलाइदिन अनुनय गरेका थिए  ।

'म अर्बपति मान्छे, लाखमै लोभिएर ठूलो गल्ती गरेँ ।' उनले भनेको कुरा उद्धृत गर्दै प्रहरी स्रोतले भनेको छ-'मेरो बुद्धि बिग्रियो र यस्तो भयो । मलाई ठूलो दशा लागेको छ। यो सब दिनदशा बिग्रिएर भयो ।' 

उनले प्रहरी अधिकारीहरुसँग आफू गल्तीको प्रायश्चित गर्न तयार रहेको र एकपटकका लागि माफी हुने वातावरण मिलाइन दिन आग्रह गरेका छन् । 

सुलभ अग्रवाललाई बजारमा ३५०० रुपैयाँ हाराहारीको मूल्य पर्ने थर्मल गन रु. १५ हजारमा बिक्री गरिरहेको बेला ग्राहक बनेर पुगेको प्रहरीले रंगेहात पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी प्रहरी भ्यानमा हाल्न खोज्दा उनी आफू पावरफूल मान्छे भएको भन्दै गाडीमा बस्न मानेका थिएनन् । प्रहरीले उनलाई भ्यानमा हाल्न बल प्रयोग गर्ने क्रममा प्रहरी भ्यानको सिसा नै फूट्न पुगेको थियो । 

त्यसपछि उनलाई हिरासतमा राखिएको थियो । हिरासतमा लिइएको रात पनि उनले प्रहरीलाई चैनको निद्रा सुत्न दिएका थिएनन् । छाति दुख्यो, मुटु दुख्यो, मरे भन्दै रातको समयमा हंगामा गरेपछि उनलाई वीर अस्पताल लगिएको थियो । त्यही मुटु, कलेज, ब्लड प्रेसर लगायत सबै चेकजाँच गर्दा अवस्था सामान्य देखिएपछि भवितव्यका लागि आवश्यक भनी डाक्टरले लेखिदिएको डेढ सय रुपैयाँको औषधिसहित सुलभलाई प्रहरीले पुनः हिरासतमा लिएको थियो । 

उनले आफूलाई छाति दुखेर सास फेर्नै गाह्रो भएको भन्दै नर्भिक अस्पतालस्थित निजी चिकित्सककोमा पुर्याइदिन सुरुमा नाटक गरेका थिए । तर उनको नाटक बुझेको प्रहरीले नर्भिक नलगी वीर अस्पताल पुर्याएर स्वास्थ्य जाँच गरी फर्काएको थियो । 

उद्योग राज्यमन्त्रीको दवाब
यसैबीच, पक्राउ परेका अग्रवालको केस सकेसम्म चाँडो मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले प्रयास गरिरहेका उच्च स्रोतहरुले दाबी गरेका छन् । 

पक्राउ परेपछि सुलभ अग्रवालका बुबालाई लिएर राज्यमन्त्री दुगड प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पनि पुगेका थिए । तर, प्रधानमन्त्रीले अग्रवालको केश हो भन्ने बुझेपछि दुगडलाई भेट नै नदिएका स्रोत दाबी गर्छ । 

अन्य केही व्यापारीहरुले समेत सुलभ अग्रवाललाई सकेसम्म चाँडो हिरासतमुक्त गराउन लविङ गरिरहेका बुझिएको छ । 

सुलभले आफू हिरासतमा बस्न नसक्ने, रातभर सुत्न समेत नसकेको गुनासो गरेपछि कतिपय व्यापारीहरुले उनलाई त्यहाँबाट कुनै सुविधासम्पन्न हस्पिटलमा सार्ने प्रयासका लागि बारम्बार प्रहरी अधिकारीहरुलाई फोन गर्ने गरेका समेत स्रोत बताउँछ । 

प्रहरीले भने सुलभ अग्रवालको कालोबजारी नेक्ससलाई अझै खोतल्न बाँकी रहेको उल्लेख गर्दै अनुसन्धानलाई अगाडि बढाएको छ । 

प्रहरीलाई हालसम्म दिएको बयानमा सुलभले आफूले चीनबाट ती सामान ल्याएको भन्ने स्वीकार गरिसकेका छैनन् । अझै पनि उनले धेरै तथ्य ढाँटिरहेको निश्कर्ष निकाल्दै यो विषयमा सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले यही बेला शंकर ग्रुपका अन्य कर्तुतहरु समेत खोतल्ने प्रयास गरिरहेको छ । 

स्मरणरहोस्, सुलभ अग्रवाल तिनै व्यक्ति हुन्, जसलाई सरकारले दिएको महत्वपूर्ण व्यवसायिक व्यक्ति(सीआइपी सम्मान) ०६८ सालमा राजश्व छलीको आरोप पुष्टि भएपछि खोसेको थियो । 

शंकर ग्रुप पटक पटक राजश्व छलि, गुणस्तरहीन सामाग्री उत्पादन लगायतका काण्डमा मुछिँदै आएको व्यापारिक घराना हो । 

पद खारेज
यसैबीच, सरकारले नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत समेत रहेका सुलभ अग्रवालको पद खारेजीको निर्णय गरेको छ ।

कूटनीतिक सुविधा र विशेषाधिकारको दुरुपयोग गरेपछि उनको पद खारेज गर्दै सो सम्बन्धको जानकारी किर्गिस्तानको सरकारलाई पठाइसकिएको परराष्ट्र मन्त्रालयको प्रोटोकल महाशाखाले जनाएको छ । 

सुलभ अग्रवालले पाएको सुविधाको दुरुपयोग गर्दै कालोबजारी गरेको फेला परेपछि परराष्ट्र मन्त्रालयले बुधबार साँझ नेपालमा रहेका सबै अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएको नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने निर्णय अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरेको थियो ।