लक्ष्मण ढकाल, कांग्रेस नेता तथा स्व. सुशील कोइरालाका पिए

कांग्रेसको १३ औं महाधिवेशनलाई कसरी हेरिरहनुभएको छ ?
सान्दर्भिक प्रश्न गर्नुभयो । आज हामी हाम्रा सभापति सुशील कोइरालालाई गुमाएको शोकमा छौं, शोकलाई शक्तिमा बदल्नुपर्ने बेला छ । एकअर्कामा दोषारोपण नगरी महाधिवेशनलाई सभ्य र भव्य बनाउन आवश्यक छ । विगतका कमीकमजोरीलाई  औंल्याउँदै भविष्यमा त्यस्ता कमजोरी नदोहोर्याउने प्रण गर्ने बेला पनि यही हो । संविधान जारी भएपछि मुलुकमा जे–जस्ता समस्या देखिएका छन्, भारत र नेपालबीच जस्ता समस्या आएका छन्, यी सबै समस्याको समाधान कांग्रेसको कुशल नेतृत्वबाट मात्र संभव छ । यसकारण समेत महाधिवेशनबाट कुशल नेतृत्व आउनुपर्छ । मलाई विश्वास छ कि यी सबै समस्याको अब महाधिवेशनपछि निकास निस्किनेछ । यही अपेक्षासहित जनता र अन्तर्राष्ट्रिय समुदायले समेत हामीलाई  हेरिरहेका छन् । 

नेपाली कांग्रेस मुलुककै ठूलो दल हो । यो पार्टीको काँधमा ऐतिहासिक दायित्व छ, इतिहासका कालखण्डमा भएका ठूला राजनीतिक परिवर्तन तथा क्रान्तिहहरुको नेतृत्व पनि कांग्रेसले गरेकै हो । हिजो वीपी कोइरालाले स्थापित गरेको नेपाली कांग्रेस, सुवर्ण समशेर, गणेशमान सिंह, किसुनजी, गिरिजाबाबु जस्ता हजारौं शहीदबाट सिर्जित कांग्रेस हो । उहाँहरुको योगदान कुनै परिवार वा व्यक्तिको हितका लागि मात्र थिएन । समग्र देश, जनता र सबै कार्यकर्ताका लागि त्यो योगदानको सही उपयोग हुनुपर्छ । देशमा प्रजातन्त्र स्थापनाका लागि अग्रणी पंक्तिमा रहेको पार्टीको नेतृत्व समयानुकुल परिवर्तन गर्दै जानुपर्छ । कानूनी राज्यको स्थापना, बहुदलीय व्यवस्थाको प्रादूर्भाव जस्ता हरेक ठूला परिवर्तनहरुमा कांग्रेसले आफ्नो राम्रो छवि स्थापित गरेको छ । यो छविसँग जोडेर कोइराला परिवार र त्यसको लिगेसीको बिषयमा केही स्वार्थीहरुले गलत प्रचार गरिरहेका छन् । नेपाली कांग्रेस भनेको एउटा मास बेस पार्टी हो र नेपाली कांग्रेसमा योगदान गर्ने थुप्रै नेता र कालखण्डहरु छन् । अब हामीले योगदान र ती कालखण्डहरुलाई जनतामाझ पुर्याउँदै नेपाली कांग्रेसमा सबैले अवसर पाउँछन, सबै मान्छे अवसरको समान उपयोग गर्न योग्य छन् भन्ने सन्देश दिन आवश्यक छ । अब पार्टीभित्र कुनै लिगेसीको कुरा उठ्नुहुन्न, परिवारवादको कुरा गौण बनाइनुपर्छ । जसरी हिजो वीपी कोइरालाले एउटा जिम्मेवारी दिएर नेपाली कांग्रेसको कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराई, सर्वोच्च नेता गणेशमान सिंह र महामन्त्रीमा गिरिजाप्रसाद कोइरालालाई बुद्धिमतापूर्वक ल्याउनुभयो र आफू विदा हुनुभयो । यो कुराबाट समेत हामीले केही कुरा सिक्न आवश्यक छ । गिरिजाबाबुको नेतृत्वमा निकै ठूला परिवर्तनहरु भए । आफ्नो अवसानसँगै उहाँले सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई पार्टी चलाउने दायीत्व, जिम्मेवारी सुम्पिएर जानुभएको कुरा सर्वविदितै छ । आज सुशील कोइराला हामीबीच रहनुभएन । उहाँ नरहेको अवस्थामा महाधिवेशनमा गइरहेका छौ । उहाँले कसैको पक्षमा वकालत गर्नुभएको थिएन । उहाँले समान विचार, नेपाली कांग्रेसको सिद्धान्तको पक्षमा वकालत गर्नुभएको थियो, व्यक्ति गौण थियो । 
 

तपाइँले पार्टीमा हिजो धेरै समस्या थिए, ती सबै समस्याहरुको व्यवस्थापन गरेर अगाडि बढन्पर्छ भन्नुभयो । तपाईले इंगित गर्न खोजेका समस्या के हुन् ?
कांग्रेस इतिहासको कालखण्डमा ऐतिहासिक दायीत्व बोकेका नेताहरु पार्टीमा आफ्नो हैसियतको कुरा उठाएर बहिगर्मन हुनुपरेको प्रशस्तै उदाहरणहरु छन् । सर्वोच्च नेता गणेशामान सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलन सफल भयो । तर अन्तमा पार्टीमा हिनताबोध भई, अपमानित भएर उहाँले विदा हुनुपर्यो, त्यो दुःखद घटना थियो । किसुनजीले पनि अन्तिममा कांग्रेसबाट अलग्गिनुपर्ने अवस्था आयो । यो समस्या किन आयो ? पार्टीभित्र गुटबन्दी देखापर्यो, पार्टी भनेको हाम्रो हो, हाम्रो परिवारले मात्र चलाउनुपर्छ भन्ने प्रवृति देखापर्यो, यो प्रवृतिप्रति इंगित गर्न खोजेको हुँ । 

कोइराला परिवारप्रति यहाँको संकेत हो ?
त्यो प्रवृति कसरी दोहोरिएको छ, त्यो हेर्नुहोस् नै मैले भन्नै पर्दैन नि । १२ औं महाधिवेशनबाट सुशील कोइराला सभापति बनेपछि एकअर्कामा दोषरोपण गर्ने काम भयो, सुशील दाईलाई अगाडि सारेर समेत दोषारोपण गर्ने काम भए । त्यो दोषारोपण गर्ने कामहरु हुँदै गर्दा त्यसबाट नेतृत्व लिने लालसा धेरैमा छ । नेतृत्व र क्षमतामा अबको नेतृत्व आउनुपर्छ, लिगेसीको आधारमा आउनुपर्छ भन्ने विश्वास म राख्दिँन । 

परिवारवाद, नातावाद, कृपावादबाट बाहिर रहेर अबको नेतृत्व बन्नुपर्छ भन्ने तपाईको कुरा आयो । रामचन्द्र पौडेल त कोइराला परिवारका मान्छे होइनन्, उनको  नेतृत्व किन अनुपयुक्त त ?
सुशील कोइराला जब महामन्त्री हुनुहुन्थ्यो, उहाँलाई गम्भीर आरोपहरु लागे । उहाँमाथि आइएसआईको एजेण्ट रहेको, यो सकुनी हो, पार्टी सिध्याउँछ भनेर गिरिजाबाबुकै वरिपरिका मान्छेहरुले आरोप लगाए । उहाँलाई पार्टी सभापति हुन नदिन धेरै प्रपञ्च रचिए । कोइराला परिवारभित्रैबाट त्यो खालको षड्यन्त्रहरु भए सुशील कोइरालाविरुद्ध ।  उहाँलाई पनि थाहा थियो यो षड्यन्त्रको बिषयमा । 

को थिए षड्यन्त्र गर्नेहरु ? 
जो मान्छे अहिले आफ्नो नेतृत्व दाबी गरिरहेका छन्, ती सबै त्यतिबेला षड्यन्त्रमा सामेल थिए । ०४८ सालमा कांग्रेसको बहुमत आएपछि जस–जसको नाममा मुलुकमा विभिन्न काण्ड भए, भ्रष्टाचारमा कांग्रस डूब्यो, लाउडा काण्ड, धमिजा काण्डदेखि गिरिजाबाबुलाई प्रयोग गरेर जुन बदनाम गराइयो, तिनै प्रवृति र पात्रहरु हुन्, जो अहिले नेतृत्वको दाबी गरिरहेका छन् । यो प्रवृतिको पात्रहरुले हिजो सुशील कोइरालाको बाटो छेक्न खोजेका थिए । तर देश, कार्यकर्ता र जनताको मायाबाट सुशील कोइराला सभापति बन्नुभयो ।  हामीले पनि उहाँको लिडरसीप जोगाइराख्न प्रयत्न गर्यौ । यो देखेर फेरि त्यहाँ जाल र डिजाइन बुनियो । त्यो डिजाइनमा उहाँ फस्नुभयो । परिवारको नाममा उहाँलाई  फसाइयो, आज यही कारण उहाँको असामयिक निधन भयो । यो सन्दर्भमा मैले यो कुरा निकाल्नु उचित नहोला, तर हिजोको घटनाक्रम हेर्नुस, गिरिजाबाबु जस्तो मान्छेलाई भ्रष्टाचारको आरोपमा बयान दिन जानुपर्ने अवस्था खडा गरियो । त्यस्ता घटनाहरु के कारणले र कस्का कारणले उब्जिए त ? त्यो पनि अहिले पार्टीको महाधिवेशनको सन्दर्भमा खोज्न आवश्यक छ नि । समीक्षा गर्न आवश्यक छ । गरीब कांग्रेस कार्यकर्ताको पार्टीमा योगदान छ भने उसले ठाउँ पाउने कि नपाउने ? कोइराला भएकै कारणले मात्र ठाउँ पाउने, नेताको भाञ्जा, ज्वाइँ भएकै कारणले ठाउँ पाउने भन्ने पनि हुन्छ ? आज हेर्नुहोस त चक्र बास्तोला कस्तो हाल भो ? वीपी कोइरालाको विश्वासपात्र चक्र बास्तोला आज जीवनको अन्तिम दोसाँधमा हुनुहुन्छ ।  त्यसैले मलाई आज दुःख लागेको छ, आज कसैले पनि बास्तोलाको चर्चा गर्दैन, यो बिषयमा घोत्लिन आवश्यक छ ।

तपाइँ लामो समयसम्म कोइराला परिवारभित्रै रहनुभयो । कोइराला परिवारसँग कुरा मिलुञ्जेल र त्यहाँ रहुञ्जेल तपाइँले त्यहाँभित्रको नातावाद, कृपावाद, परिवारवाद, षड्यन्त्रका कुरा बाहिर ल्याउन चाहुनभएन वा सक्नुभएन । तर जब तपाइँलाई पनि षड्यन्त्र गरी त्यहाँबाट लखेटियो, त्यसपछि अहिले मात्र तपाइँ यी कुरा खुलासा गरिरहनुभएको छ । कार्यकर्ताले पत्याउलान् र ?
मैले कोइराला परिवार वा त्यहाँको कुनै सदस्यको विरोध गरेको होइन । मैले उहाँहरुको प्रवृतिको विरोध गरेको हुँ । यस्तो प्रवृतिको मैले हिजो पनि विरोध गरेकै हो । भोलि पनि गरिरहनेछु । समयले सबै बुझाइसकेको छ, मैले धेरै बोलिरहन आवश्यक छैन । मलाई विश्वास छ, यसपालि महाविधेशन प्रतिनिधिहरुले त्यस्ता प्रवृति भएकाहरुलाई राम्रैसँग ठेगान लगाइदिनेछन् । हिजो यो प्रवृति मुलुकमा कस्ले हुर्कायो ? खुमबहादुर खड्कादेखि गोविन्दराज जोशीजस्ता होनाहार नेताहरुलाई कस्ले जेलमा जान बाध्य पार्यो ? पार्टीमै रहेका अरु ठूला भ्रष्टाचारीलाई चाहि किन मुद्धा लागेन ? ज्वलन्त उदाहरणहरु छन् । गलत मान्छे  र भ्रष्टाचारीलाई कारबाही गर्नैपर्छ, त्यो कुरामा कांग्रेस अडिग छ, तर कोहीमाथि पनि पूर्वाग्रही ढंगले कारबाही गरिनहुन्न । हिजो यस्ता घटनामा पूर्वाग्रही भएको प्रमाण छ, त्यो कारणले आजको यो अवस्था पार्टीमा आएको हो । हिजोको दिनमा कांग्रेस पार्टी फूट्यो, फूट्दा समेत यही प्रवृति मुख्य कारक थियो । कसैको स्वाभिमानमा चोट पुर्याउन खोज्यो भने त्यसको प्रतिकार हुन्छ । यसपटकको महाधिवेशनले त्यसको राम्रैसँग प्रतिवाद गर्दैछ । 

–अन्तमा पार्टीमा हिनताबोध भई, अपमानित भएर उहाँले विदा हुनुपर्यो, त्यो दुःखद घटना थियो । किसुनजीले पनि अन्तिममा कांग्रेसबाट अलग्गिनुपर्ने अवस्था आयो । 

–उहाँमाथि आइएसआईको एजेण्ट रहेको, यो सकुनी हो, पार्टी सिध्याउँछ भनेर गिरिजाबाबुकै वरिपरिका मान्छेहरुले आरोप लगाए । 
–जो मान्छे अहिले आफ्नो नेतृत्व दाबी गरिरहेका छन्, ती सबै त्यतिबेलाका षड्यन्त्रकारी हुन् ।
–परिवारको नाममा उहाँलाई  फसाइयो, आज यही कारण उहाँको असामयिक निधन भयो ।
–कोइराला भएकै कारणले मात्र ठाउँ पाउने, नेताको भाञ्जा, ज्वाइँ भएकै कारणले ठाउँ पाउने ?
–यसपालि महाविधेशन प्रतिनिधिहरुले त्यस्ता प्रवृति भएकाहरुलाई राम्रैसँग ठेगान लगाइदिनेछन् ।
–भारतमा चिया फिट्ने नरेन्द्र मोदी प्रधानमन्त्री भइसके, यहाँ चाहि जनताको छोराले प्रधानमन्त्री हुन पाउने कि नपाउने ?
–कसैको पुच्छर समाएर राजनीति गर्ने जमाना गयो । सबैको समान अधिकार छ नेतृत्वमा दाबी गर्न पाउने ।
–सबैलाई एकठाउँमा लिएर जानसक्ने शेरबहादुरसँग अनुभव र क्षमता छ । सबैको आशाको केन्द्र पनि उनी नै हुन् ।

–उहाँ वीपीको छोरा हो, ठीक छ, हामी सम्मान गर्छौ । तर वीपीको छोरा हुनेबित्तिकै उसलाई राजनीति जिम्मा लगाउनुपर्छ भन्ने विश्वास म गर्दिँन ।
–गिरिजाप्रसाद कोइरालालाई भ्रष्टाचारको आरोप लाग्दा विपक्षीहरुका सामु संसदमै डटेर तर्क पेश गर्दै उभिने एक मात्र नेता हो अर्जुन नरसिंह केसी ।
–सुशील कोइरालाले पनि महामन्त्रीमा केसीलाई मनोनीत गर्न चाहुनभएको थियो, तर कोइराला परिवारबाटै खेल्ने काम भयो र त्यो हुन दिइएन ।
–ढिलै भए पनि उहाँहरुले पार्टीभित्र हुर्किरहेको ‘गणेश प्रवृति’को विपक्षमा उभिनु आँट देखाउनुभयो 
–म कांग्रेसको सच्चा सिपाही हुँ । म उम्मेद्वार होइन, तर साथीहरुले जितून्, राम्रो होस् पार्टी । वीपीले भनेजस्तो ‘म ठूलो होइन, असल बन्ने’ अभियानमा छु ।

तपाइँले जुन समूह(देउवा समूह)का लागि अभियानमा हिँड्नुभएको छ, त्यो समूहमा भ्रष्टाचारको आरोप प्रमाणित भएकाहरुलाई साथ दिइरहनुभएको छ, यो ठीक हो त ?
तपाइँको बुझाई गलत हो । मैले कसैको लागि क्याम्पेन गरिरहेको होइन । पार्टी दासताबाट मुक्त हुनुपर्छ भन्ने मेरो उद्देश्य हो । मैले शेरबहादुर देउवा, अर्जुननरसिंह केसीको सपोर्ट गरेको होइन । त्यो प्रवृतिको विरोधमा लाग्नुपर्छ । आज भारतमा सामान्य चिया फिट्ने जनताको छोरो नरेन्द्र मोदी प्रधानमन्त्री भइसकेको अवस्था छ, त्यो यहाँ हुने कि नहुने ? जनताको छोरा प्रधानमन्त्री हुन पाउने कि नपाउने ? मैले पात्र होइन, प्रवृतिको विरोध गरेको हुँ । स्वस्थ गुटबन्दी हुनुपर्छ, यहाँ अस्वस्थ गुटबन्दी धेरै भयो । कसैको पुच्छर समाएर राजनीति गर्ने जमाना गयो । सबैको समान अधिकार छ नेतृत्वमा दाबी गर्न पाउने । पार्टीलाई गुटबन्दीबाट मुक्त गर्नका लागि त्यसको नेतृत्व शेरबहादुर देउवाले गर्न सक्छन भन्ने मेरो बुझाई हो । पार्टीलाई एक बनाउने काम शेरबहादुरले गर्न सक्छन, नेपाल र भारतको सम्बन्ध राम्रो बनाउने काम पनि शेरबहादुरले गर्न सक्छन भन्ने मेरो बुझाई हो । सबैलाई एकठाउँमा लिएर जानसक्ने शेरबहादुरसँग अनुभव र क्षमता पनि छ । सबैको आशाको केन्द्र पनि उनी नै हुन् । देशभरिका कार्यकर्ता साथीहरुको भनाई पनि यही छ । 

शेरबहादुरप्रति तपाईको सद्भाव देखियो । महामन्त्रीमा सशांकप्रति तपाइँको सहानुभूति कि अर्जुन नरसिंह केसीप्रति ?
सुशील कोइराला ०४८ सालमा महामन्त्री बन्दा सशांक कोइराला त्यसबेला राजनीतिमा हुनुहुन्थेन । उहाँ वीपीको छोरा हो, ठीक छ, हामी सम्मान गर्छौ । तर वीपीको छोरा हुनेबित्तिकै उसलाई राजनीति जिम्मा लगाउनुपर्छ भन्ने विश्वास म गर्दिँन । त्यहाँ अरुका पनि छोराहरु छन् । सुशील कोइरालाभन्दा बढी दुःख पाएको एउटा कार्यकर्ताको छोराले त्यो ठाउँमा जाने अवसर नपाउने ? यो सशांक कोइरालाको विरोध होइन । सुशील कोइरालाको राजनीतिक जीवनको सन्दर्भमा अर्जुन नरसिंह केसीले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । गिरिजाप्रसाद कोइरालालाई भ्रष्टाचारको आरोप लाग्दा विपक्षीहरुका सामु संसदमै डटेर तर्क पेश गर्दै उभिने एक मात्र नेता हो अर्जुन नरसिंह केसी । हामीले विगत र उनको योगदान पनि त हेर्नुपर्यो नि । अर्जुन नरसिंह केसीले दुःखका दिनमा सुशील कोइरालालाई आर्थिकदेखि सबै खालका सहयोग गर्नुभएकै हो, म हो यसको साक्षी । गिरिजाबाबुलाई परिवारको घेराबन्दीमा पारिएपछि उहाँको इच्छा नहुँदा नहुँदै पनि सुशील कोइरालाको जोडबलमा केसीलाई सहमहामन्त्री बनाइएको थियो, त्यसबेला । हिजोका दिनमा कोइराला परिवारका अन्य सदस्यले सुशील कोइरालालाई नाकाबन्दी लगाउँदा साथ दिएको मान्छे हो अर्जुन नरसिंह केसी । त्यसबेला गिरिजाबाबुसँग सुशील दाईले अर्जुन नरसिंह केसी पार्टीको सहमहामन्त्रीमा बस्न योग्य मान्छे हो, उहाँलाई यो जिम्मेवारी दिनुपर्छ भनेर अडान लिनुभएको थियो । असहमति हुँदा हुँदै पनि नियुक्त गर्नुभयो । दुःखका दिनमा अर्जुन नरसिंह र सुशील कोइराला सँगै हुनुहुन्थ्यो । तर पछिल्लो अवस्थामा सुशील कोइराला पार्टी सभापति भएपछि केही नीतिगत कुरामा केसीको मतभिन्नता थियो । 

अघिल्लो महाविधेशनमा समेत अर्जुन नरसिंह केसी महामन्त्रीको आकांक्षी हुनुहुन्थ्यो । त्यसबेला सुशील, शेखर, सशांक कोइराला लगायतसँग केसीलाई १२ आंै महाधिवेशनपछि महामन्त्रीमा मनोनीत गर्ने सहमति थियो रे नि ? सुशील कोइरालाले त्यो कार्यान्वयन गर्नुभएन भन्ने पनि कुरा बाहिर आएको छ ?
हो त्यस्तो सहमति भएकै थियो । सुशील कोइरालाले पनि महामन्त्रीमा केसीलाई मनोनीत गर्न चाहुनभएको थियो, तर कोइराला परिवारबाटै खेल्ने काम भयो र त्यो हुन दिइएन । मलाई जसरी सुुशील कोइरालाको साथबाट लखेट्ने काम भयो त्यसैगरी अर्जुन नरसिंह केसीविरुद्ध पनि त्यस्ता प्रवृति जागे । उहाँ एक बोल्ड क्यारेक्टर, ड्यासिङ पर्सनालिटी भएको मान्छे, उहाँलाई समेत निषेध गर्ने थुप्रै षड्यन्त्रहरु भए । उहाँलाई माइनस गरियो । सबैभन्दा लोकप्रिय मत हासिल गर्नुभएको थियो, उहाँसँग कार्यकर्ताको ठूलो सहयोग पनि थियो, पब्लिक कन्ट्याक्टमा उहाँ अहिले पनि सबै नेतामध्ये एकनम्बर हुनुहुन्छ । 

भनेपछि यसपटक चाहि महामन्त्रीमा अर्जुन नरसिंह केसीले बाजी मार्नुहुन्छ ?
उहाँ हिजो पनि लोकप्रिय, आज पनि लोकप्रिय नेता हो । उहाँलाई त जित्ने अधिकार छ नि । महामन्त्रीका अरु उम्मेद्वारहरुको इतिहास हेर्नुपर्यो नि । म पपुलर छु भनेर त्यत्तिकै लडेर मात्र हुन्न । समय पर्खिनुपर्यो नि । मैले कसैको विरोध गरेको होइन यहाँ । आज सभापतिमा उम्मेद्वारी दिएका केही व्यक्ति भन्दा पनि अर्जुन नरसिंह केसीको लिडरसीप क्षमता र योगदान माथि छ । सबैको इतिहास हेरे पुग्छ । मलाई त पूर्ण विश्वास छ कि, अर्जुन नरसिंह केसीले अत्यधिक मत ल्याएर शेरबहादुर देउवा प्यानलबाट जित्नुहुन्छ । 

शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग टक्कर लिन कृष्ण सिटौला पनि सभापतिमा चुनाव लड्न तम्सिएका छन् । महामन्त्रीमा गगन थापा सिटौलाको प्यानलबाट चुनावी मैदानमा छन् । सिटौला र थापाको उम्मेद्वारीको विषयमा तपाईले मात्र होइन, कार्यकर्ताले समेत  प्रश्न र जिज्ञासा उठाइरहेका छन् ? कुनै शक्ति केन्द्रको इशारामा पो उनीहरु बलीको बोका बन्न तयार भएका हुन् कि भन्ने आशंका समेत उब्जिरहेको छ । यो विषयमा केही बुझ्नुभएको छ ?
कृष्ण सिटौला र गगन थापालाई म धन्यवाद दिन चाहन्छु । ढिलै भए पनि उहाँहरुले पार्टीभित्र हुर्किरहेको ‘गणेश प्रवृति’को विपक्षमा उभिनु आँट देखाउनुभयो । उहाँहरुलाई म कोटी–कोटी धन्यवाद दिन चाहन्छु । यो पार्टीमा विद्रोह गर्दा मात्र चिन्ने अवस्था आयो, विद्रोह नगर्दा वर्षौ योगदान गरे पनि त्यो मान्छे बाहिरै बस्नुपर्ने अवस्था भयो । यो खराब प्रवृतिविरुद्ध उहाँहरु विद्रोह गरेर अगाडि बढ्नुभएको छ । 

यो विद्रोह हो कि कसैको डिजाइन ?
डिजाइन होइन यार । मान्छेको आफ्नो अधिकारको कुरा हो । कृष्ण सिटौला महामन्त्री हुनुभयो, संविधान जारी गर्ने बिषयमा कुशलता प्रदर्शन गर्नुभयो । गगन थापा, युवा पंक्तिमा लोकप्रिय नायक हुन् । यो कुरालाई सिम्बोलिक रुपमा लिनुपर्छ । तर पार्टीमा कहिले पालो आउने, त्यो चाहि निर्धारण हुनुपर्छ । यसपटक शेरबहादुर देउवाको नेतृत्व आएपछि पार्टीमा सबैप्रति न्याय हुन्छ र भोलिका दिनमा कसैले पनि विद्रोह गरिरहनुपर्ने आवश्यकता रहदैन । बाउ सभापति हुँदा छोराले पनि सभापति नै हुन पाउनुपर्छ भन्ने गलत सोंच अब रहनुहुन्न । 

तपाइँले लामो समयसम्म सुशील कोइराला र अन्य शीर्ष नेताको समेत विश्वासपात्रको रुपमा काम गर्नुभयो । पार्टीमा लामो योगदान पनि छ । कार्यकर्ताको विश्वास पनि छ तपाइँप्रति । तर्कशील हुनुहुन्छ, सिस्टम बुझेर क्षमतावान पनि बन्नु भएको छ । अन्य नेताहरुको स्थानको कुरा गरिरहँदा तपाईको चाहि पार्टीमा कुन स्थान हुन्छ अब ? 
म एउटा आशावादी मान्छे हुँ । म वीपीको सिद्धान्तबाट प्रभावित भएर पार्टीमा प्रतिबद्ध भई लागेको मान्छे हुँ । म सुशील कोइरालाको पछि लाग्दा उहाँलाई पार्टी सभापति, प्रधानमन्त्री बनाएर त्यहाँबाट नाफा लिई घर ठड्याउन राजनीति गरेको थिइँन । सुशील कोइरालासँग जबसम्म भिजन मिल्यो म सँगै रहेँ, जब भिजन मिलेन म त्यहाँबाट बाहिरिएँ । मैले त्यसबेला उहाँलाई परिवारका खराब सदस्यबाट टाढा बनाएकै हो । मैले जबसम्म उहाँलाई परिवारको चंगुलबाट टाढा राखेँ, तबसम्म उहाँको सबै राम्रै भएको थियो, प्रगति पनि भएकै हो । उहाँ त्यागी हुनुहुन्थ्यो, देश र जनता नै घर र परिवार थियो उहाँको । उहाँ प्रधानमन्त्री भएपछि म मन्त्री बनौंला, केन्द्रीय सदस्य हौला भनेर लागेको होइन । मैले चाहेको थिएँ भने मन्त्री पनि बनिसक्थेँ होला नि । आखिर परिवारकै सदस्यबाट सुशील कोइरालालाई घेराबन्दी गरियो र यो कुरा बुझ्न दिइएन, नचाहँदा नचाहँदै विदा भएको हुँ । म आफैँ चिठी लेखेर निस्किएको मान्छे हुँ । राजनीतिमा प्रधानमन्त्री र सभापति भन्दा ठूलो पद अरु के हुन्छ ? मैले फाइदा मात्र हेरेको थिएँ भने त रोइकराई गरेर त्यहीँ बस्थेँ हँुला नि ? त्यहाँ त मान्छे टिकेर बस्न चाहन्छ । हिजो मलाई आरोप लगाउनेहरुले जवाफ दिनुपर्छ, सुशील कोइरालाको अवसान कसरी भयो ? म पार्टीको कार्यकर्ता हुँ, पार्टीले जे जिम्मेवारी दिन्छ, त्यो काम गर्न तयार छु । पदले मात्र स्थान सुरक्षित हुँदैन । भविष्यमा एउटा समय आउला, भावी नेतृत्व, देश, जनता र कार्यकर्ताले मूल्यांकन गर्लान् नै । कांग्रेसलाई नीति, सिद्धान्त र विचारबाट दह्रो बनाउनुपर्छ । भातृ संस्थालाई चलायामान बनाउनुपर्छ, कांग्रेसमा जुझारुपन ल्याउनुपर्छ, त्यसको नेतृत्व देउवा टिमले गर्दा राम्रो हुन्छ भन्ने मेरो बुझाई हो । म कांग्रेसको सच्चा सिपाही हुँ । म उम्मेद्वार होइन, तर साथीहरुले जितून्, राम्रो होस् पार्टी । वीपीले भनेजस्तो ‘म ठूलो होइन, असल बन्ने’ अभियानमा छु । समय आउला नि मेरो पनि ।