काठमाण्डौ । दोस्रो बजारमा सूचीकरण भई कारोबार सुरु गरेको तेस्रो दिनमै इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा बुधबार उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ । 

इन्फिनिटी लघुवित्त र नेपाल स्टक एक्सचेन्जबीच आइतबार सेयर सूचीकरणसम्बन्धी सम्झौता भएको थियो । जसअनुसार इन्फिनिटीको २० लाख ७४ हजार कित्ता सेयर दोस्रो बजारमा सोमबारदेखि सूचीकरण भई कारोबारमा आएको थियो।

नेप्सेले यो कम्पनीलाई प्रि–ओपनिङ कारोबारका लागि रु १०३.८१ देखि रु ३११.४३ सम्मको कारोबार रेन्ज तोकिदिएको थियो। 

दोस्रो बजारमा चौथो दिन कारोबार सुरु भएको आधा घन्टा पनि हुन नपाउँदै इन्फिनिटी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तर आएपछि पोजेटिभ सर्किट लागेको हो । यो कम्पनीको अन्तिम सेयरमूल्य हिजो मंगलबार प्रतिकित्रा ३७७ रुपैयाँ रहेकोमा बुधबार १० प्रतिशतको हाराहारीमा बढेर ४१४ रुपैयाँ पुगेको छ । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा इन्फिनिटी लघुवित्तको १६ हजार २५ कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ एउटा पनि आदेश पोस्ट भएको छैन । यसले कम्पनीको सेयर बेच्नेभन्दा पनि किन्नेको चाप बढी देखाउँछ । 

इन्फिनिटी लघुवित्तले थत जेठ १३ गतेदेखि ६ लाख ७४ हजार ३०० कित्ता (रु. १०० अंकित दर) का आइपीओ निश्कासन गरेको थियो । कुल निश्कासन कित्तामध्ये म्युचअुल फण्डहरुका लागि ३३ हजार ७०० कित्ता, कम्पनीका कर्मचारीका लागि १० हजार ३७० कित्ता र बाँकी रहेको ६ लाख ४० हजार ३०० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको थियो । 

यो कम्पनीलाई धितोपत्र बोर्डले गत बैशाख २३ गते कम्पनीलाई चुक्तापूँजीको ३२।५ प्रतिशतले हुन आउने ६ करोड ७४ लाख बराबरको आइपीओ निश्कासनको अनुमति दिएको थियो ।

चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको कम्पनीको आइपीओपछि चुक्तापूँजी २० करोड ७४ लाख पुगेको छ । 

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ करोड १९ लाख खूद नाफा आर्जन गरेको थियो ।

यो कम्पनीको आईपिओलाई केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ को रेटिङ्ग प्रदान गरेको थियो, जसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर छ भन्ने हो ।