काठमाण्डौ । देशकै नम्बर वान जीवन बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्सबाट राजीनामा गरेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत विवेक झा सूर्या लाइफ इन्स्योरेन्समा जाने भएका छन् । 

सूर्या लाइफ इन्स्योरेन्सको संचालक समितिले गरेको यही तयारीका कारण कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत शिवनाथ पाण्डेले कार्यकाल बाँकी छँदै राजीनामा दिएका छन् । 

फागुन, २०७३ मा चार वर्षे कार्यकालका लागि नियुक्त भएका पाण्डेले संचालक समितिसँगको परामर्शअनुसार नै सीइओबाट राजीनामा दिएका स्रोतले दाबी गरेको छ । 

नेपाल लाइफ इन्स्योरेन्सको सीइओबाट विवेक झा गत साउन १ गते विदा भएका थिए । कुलिङ पिरियडका कारण उनले तत्काल अरु कम्पनीमा काम गर्नसक्ने अवस्था थिएन । कुलिङ पिरियड सकिन लागेको अवस्थामा शिवनाथ पाण्डेलाई विदा गरी कम्पनीको संचालक समितिले झालाई स्वागत गर्ने तयारी गरेको हो । 

शिवनाथ पाण्डे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएपछि सूर्या लाइफमा सीइओ भएर गएका थिए । उनले केन्द्रीय बैंकमा ३० वर्षसम्म काम गरेका थिए । 

यता, सूर्या लाइफमा आउने भनिएका झाको नेतृत्वमा नेपाल लाइफ देशकै नम्बर वान जीवन बिमा कम्पनी बनेको थियो । नेपाल लाइफमा कुल नौ वर्ष ११ महिना बिताएर ३१ असारमा बिदा हुँदै गर्दा झाले यस कम्पनीलाई जीवन बीमाको क्षेत्रमा सबै सूचकहरुमा नेपालको नम्बर वान बीमकका रूपमा स्थापित गरेका थिए । जीवन बीमा बजारमा नेपाल लाइफको हिस्सा एक दशकअघिको २२ प्रतिशतबाट गत आर्थिक वर्षको अन्त्यमा उनले ३० प्रतिशत पुर्याएका छन् । 

झाको प्रवेशपछि सूर्या लाइफले पनि जीवन बिमाको क्षेत्रको निकै ठूलो फड्को मार्ने आशा गरिएको छ ।