काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ।

कम्पनीको बुधबार सार्वजनिक पहिलो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क ४४.५० प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा खुद बीमा शुल्क ८३ करोड ६८ लाख रुपैयाँ रहेको छ। जुन गत वर्ष यही अवधिमा ५७ करोड ९१ लाख रुपैयाँमा सीमित रहेको थियो। 

प्रथम त्रैमाससम्म कम्पनीले जीवन बीमा कोषको आकार ४१.८८ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा ५ अर्ब ५९ करोड रुपैयाँमा सीमित जीवन बीमा कोषको आकार बढेर समीक्षा अवधिमा ८ अर्ब ७ करोड रुपैयाँको उचाइमा पुगेको छ। 

अघिल्लो वर्ष ९ करोड ८ लाख रुपैयाँमा सीमित महाविपत्ति जगेडा बढेर ११ करोड ९४ लाख रुपैयाँ तथा ५२ करोड ९३ लाख रुपैयाँमा सीमित रिजर्भको आकार बढी ७६ करोड १ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट १७ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी अघिल्लो वर्ष १३ करोड ७ लाख रुपैयाँमा सीमित थियो। 

कम्पनीले यो अवधिमा खुद दाबी भुक्तानी ११३.२९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा ८ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिमा १७ करोड ५९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।

कम्पनीको व्यवस्थापन खर्च समीक्षा अवधिमा बढेर ९ करोड २० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको यस्तो खर्च ८ करोड ५७ लाख रुपैयाँ रहेको थियो। 

अघिल्लो वर्ष यही अविधिमा ७ करोड ८७ लाख रुपैयाँमा सीमित खुद नाफालाई बढाएर समीक्षा अवधिमा १० करोड १६ लाख रुपैयाँको उचाइ चुमाएको छ। यो नाफा २८.९६ प्रतिशतले बढी हो।

कम्पनीले समीक्षा अवधिसम्म १ लाख ५५ हजार २२७ वटा बीमालेख कायम रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ लाख ५९ हजार ६६० वटा बीमालेख कायम रहेको थियो।

वार्षिकीकृत कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८.८६ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३१.९२ गुणा र प्रतिसेयर नेटवर्थ १३२.७८ रुपैयाँ रहेको छ।