काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा ८७ प्रतिशतले बढोत्तरी गर्न सफल भएको छ । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा संस्थाले १ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा १ करोड ६८ लाख रुपैयाँको छलाङ मार्न सफल भएको छ । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी १० करोड ५८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ६ करोड ३८ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तारले आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ४ करोड ८३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ३ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि १ करोड ८७ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष ६५ लाख ९१ हजार रुपैयाँ थियो। 

यस अवधिमा संस्थाले ८६ करोड २६ लाख रुपैयाँ सापटी लिई १ अर्ब ५६ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा ४७ करोड ९१ लाख रुपैयाँ सापटी लिई ८७ करोड ८ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १० करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ७ करोड ५६ लाख रुपैयाँ थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ४.३२ प्रतिशतले घटाएको छ । अघिल्लो वर्ष ८ करोड ३१ लाख रुपैयाँको रहेको संस्थाको जगेडा कोषको आकार समीक्षा अवधिमा घटेर ७ करोड ९५ लाख रुपैयाँ भएको छ । 

संस्थाको प्रतिसेयर आम्दानी ३३.९१ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात २३.६६ गुणा, प्रतिसेयर नेटवर्थ १७३.७५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६०३.९१ रुपैयाँ रहेको छ ।