काठमाण्डौ । ‘सरल लघु बैंकिङ्ग’ मूल नारा लिएर काभ्रेको नमोबुद्ध नगरपालिका वडानम्बर २ भकुण्डेबेशीमा केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्थाले कारोबार थालेको छ ।

साउन २३ गते बुधबार नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एका समारोहका बीच संस्थाको उद्घाटन गरेका हुन् । 

उद्घाटन कार्यक्रममा वित्तीय संस्थाको संस्थापक लगानीकर्ता सेञ्चुरी कर्मसियल बैंकका अध्यक्ष राजेश श्रेष्ठ, नमोबूद्घ उद्योग बाणिज्य संघका अध्यक्ष वशुनारायण श्रेष्ठ लगायतले संस्थाको प्रगतिको कामना गरेका थिए । 

संस्थाका अध्यक्ष जीवन भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रम समापन गर्ने क्रममा उनले विपन्न वर्गमा जाने कर्जा बैंक तथा फाइनान्स कम्पनी स्वयम्ले प्रत्यक्ष लगानी गर्नुभन्दा लघुवित्त वित्तीय संस्थाहरुमार्फत मात्र लगानी गर्ने नीति बनाउन सकेमा लघुवित्तीय संस्थाहरुलाई कार्य गर्न सहज हुने बताए । 

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४ साल कार्तिक ८ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७५ साल असार १९ गते वित्तीय कारोवार गर्ने ईजाजत पाएको यस वित्तिय संस्थाको अधिकृत पूंजी २० करोड, जारी पूँजी ११ करोड र हालको चुक्तापूँजी ७ करोड ७० लाख रहेको छ । 

चुक्तापूँजीमध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक र कैलाश विकास बैंकको ५१ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको ४९ प्रतिशत संस्थापक शेयर रहेको छ ।