काठमाण्डौ । प्रभू बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर सम्झौता भएको छ । योसँगै नेपालको बैंकिङ उद्योगको कान्छो वाणिज्य बैंक सेञ्चुरीको बिलयसँगै ‘ठूलो र बलियो प्रभू बैंक’ बन्ने देखिएको छ । 

काठमाण्डौको मेरिएट होटलमा केहीबेरअघि एक समारोहका बीच दुई बैंकबीच मर्जर सम्झौता भएको हो । 

प्रभू र सेञ्चुरी बैंकबीच १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता भएको प्रभू बैंकका एक सञ्चालकले बिजशालालाई जानकारी दिए । 

पछिल्लो समय मुख्य वित्तीय सूचकमा उत्साहजनक ढंगले प्रगति गरेकै कारण सेञ्चुरीलाई प्रभूले १ः१ को सेयर स्वाप अनुपात दिएको हो । विजिनेश ग्रोथ, खराब कर्जा असूली तथा नियामकीय व्यवस्था पालनामा पछिल्लो समय सेञ्चुरीले राम्रो प्रगति गर्न थालेको थियो । 

प्राप्तिपछि बैंकको नाम ‘प्रभू बैंक लिमीटेड’ रहने सम्झौतामा उल्लेख छ । 

प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रभू बैंकका अशोक शेरचनले निरन्तरता पाउनेछन् भने सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने मर्जरपछि बन्ने बैंकमा वरिष्ठ डेपुटी सीइओ बन्नेछन् । 

मर्जरपछिको बैंकको सञ्चालक समितिको अध्यक्ष प्रभू बैंकले पाउनेछ भने सेञ्चुरी कमर्सियल बैंकलाई ३  सञ्चालक दिइनेछ । 

यी दुई बैंकबीच असारमै मर्जरमा जाने कसरतहरु भएका थिए । सेञ्चुरी बैंकका सञ्चालकहरुबीच पूर्ण सहमति कायम हुन नसक्दा त्यस्ता प्रयासहरु सफल भएका थिएनन् । 

नेपाल राष्ट्रबैंकले मर्जरमा जाने वाणिज्य बैंकहरुलाई दिंदै आएको १० खालका छुट तथा सुविधाहरु आगामी पुसभित्र एकीकृत कारोबार गर्नेहरुलाई मात्र उपलब्ध गराउने मौद्रिक नीतिबाट घोषणा गरिसकेको छ । यही घोषणालाई पछ्याउँदै प्रभू र सेञ्चुरीले पुसभित्रै एकीकृत कारोबार गर्ने तयारीका साथ मर्जर सम्झौता गरेका हुन् । 

हाल प्रभू बैंकको चुक्तापूँजी १२ अर्ब ७० करोड रहेको छ भने सेञ्चुरी कमर्सियल बैंकको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यी दुई बैंक बराबरी हैसियतमा गाभिएपछि चुक्तापूँजी २२ अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ ।

प्रभू र सेञ्चुरी मर्जरपछि निक्षेपको आकार करिब ३ खर्ब नजिक पुग्नेछ भने ऋण लगानीको आकार २ खर्ब ३६ अर्ब माथि पुग्नेछ ।