काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सेञ्चुरी कमर्सियल बैंकले आफ्नो लाभांश क्षमतामा फराकिलो अन्तरले बढोत्तरी गरेको छ । 

यो बैंकले अघिल्लो वर्ष यही अवधिमा १० करोड ५७ लाखमा सीमित वितरणयोग्य नाफालाई बढाएर यो वर्ष २० करोडको उचाई चुमाएको हो । 

बैंकले खूद नाफातर्फ पनि  करिब १०५ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष १३ करोड ३८ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष २७ करोड ४० लाखको उचाईमा पुगेको हो । 

यस्तै, १९ करोड ११ लाखमा सीमित संचालन मुनाफा समेत बढाएर ३९ करोड १४ लाखको उचाई चुमाएको छ । 

व्यवसाय बिस्तारमा आक्रामक भएका कारण बैंकको खूद ब्याज आम्दानी ७२.१९ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष ४६ करोड ५४ लाखमा सीमित यस्तो आम्दानी ८० करोड १५ लाखको उचाईमा  पुगेको हो । 

समीक्षा अवधिमा बैंकले ६२ अर्ब ३७ करोड निक्षेप संकलन गरी ५७ अर्ब ५४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४५ अर्ब ३५ करोड निक्षेप संकलन गरी ३९ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको थियो ।

अघिल्लो वर्ष १ अर्ब ४१ करोड रहेको रिजर्ब सामान्य घटी १ अर्ब ३८ करोडमा सीमित भएको छ ।

यसैगरी, बैंकले खराब कर्जा(एनपीएल)मा निकै राम्रो सुधार गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १.७० प्रतिशतको अनुपातमा रहेको एनपिएल ०.८२ प्रतिशतमा सीमित गर्न बैंक व्यवस्थापन सफल देखिएको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी समेत करिब ३९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ९ रुपैयाँ ८० पैसा रहेको इपीएस बढेर यो वर्ष १३ रुपैयाँ ५९ पैसाको उचाईमा पुगेको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ११७.१५ रुपैयाँ पुगेको हो ।