काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा वितरणयोग्य मुनाफा ३६.४२ प्रतिशतले बढाएको छ । 

अघिल्लो वर्षको यही अवधिमा ३२ करोड ५१ लाखमा सीमित यस्तो नाफा बढेर यो वर्ष ४४ करोड ३५ लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकको खूद नाफामा पनि ४१.३७ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष ३६ करोड ६५ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ५१ करोड ८१ लाख पुगेको हो ।

यसैगरी, ५२ करोड ४४ लाखमा सीमित संचालन मुनाफा बढेर ७४ करोड माथि पुगेको छ । 

व्यवसाय बिस्तारमा ध्यान दिएका कारण कम्पनीको खूद ब्याज आम्दानी ५०.३७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ८९ करोड रहेको यस्तो आम्दानी बढेर १ अर्ब ३३ करोडको उचाईमा पुगेको हो ।

यो अवधिमा बैंकले ६४ अर्ब १२ करोड निक्षेप संकलन गरी ५८ अर्ब ८९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २२.९० प्रतिशतले बढाएको बैंकले कर्जा बिस्तारतर्फ २७.०३ प्रतिशतको प्रगति गरेको छ । 

अघिल्लो वर्षको तुलनामा बैंकको रिजर्बकोष भने केही घटेको छ । अघिल्लो वर्ष १ अर्ब ८० करोड रहेको कोषको आकार घटी १ अर्ब ६४ करोडमा सीमित बन्न पुगेको हो ।

बैंकले ०.९९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटाएर ०.८४ प्रतिशतको अनुपातमा झारेको छ भने यो अवधिमा बेस रेट ११.५ प्रतिशत कायम गरेको छ ।

अघिल्लो वर्ष यही अवधिमा ९.५५ प्रतिशतमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी ३४.६४ प्रतिशतले बढेर १२.८५ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२०.३४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.१५ गुणा कायम भएको छ ।