काठमाण्डौ । छोटो अवधिमा राम्रो प्रगति गर्दै गएको सेञ्चुरी कमर्सियल बैंकले सोमबार(आज)देखि हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ । 

यो बैंकले १० बराबर ४ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद बिक्री खुल्ला गरेको हो । 
साउन १६ (आज)देखि बिक्री खुल्ला भएको हकप्रदमा सेयरधनीले आगामी भदौ १८ गतेसम्म आवेदन दिनसक्नेछन् । 

हकप्रदका लागि बैंकले गत असार २७ गतेलाई बुक क्लोजको मिति तय गरेको थियो । यसको अर्थ असार २६ गतेसम्म सेञ्चुरी बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

यो बैंकले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता हकप्रदको बिक्री खुल्ला गरेको हो । सेञ्चुरी कमर्सियल बैंकका साबिकका सेयरधनी तथा यो बैंकमा बिलय भइसकेको इन्नोभेटिभ र अरिनको डेभलपमेन्ट बैंकका साबिकका सेयरधनीले समेत हकप्रदका लागि आवेदन दिन पाउनेछन् । हालै यो बैंकमा गाभिएको सगरमाथा फाइनान्सका सेयरधनी भने यो हकप्रद भर्न योग्य मानिने छैनन् । 

सेञ्चुरीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । 

हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदको पूँजीकरणपछि बैंकको चुक्तापूँजी ६ अर्ब ५९ करोडको उचाईमा पुुग्नेछ । यो बैंकको अधिकृत पूँजी ८ अर्ब रुपैयाँ रहेको छ । 

इच्छुक सेयरधनीले काठमाण्डौको सिटीसी मलस्थित सिभिल क्यापिटलको मुख्य कार्यालय, सेञ्चुरी कमर्सियल बैंकको देशभरका शाखा कार्यालयमा गएर हकप्रदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो बैंक हाल सेती फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्तिको अन्तिम चरणमा रहेको छ।